
Tank Budhathoki to Direct ‘Man Binako Dhan 2’, Pooja Sharma Confirmed
गत वर्ष बक्स अफिस हिट सिनेमा ‘मन विनाको धन’को सिक्वेल निर्माण हुने भएको छ। निर्माण टिमले ‘मन विनाको धन २’ निर्माण घोषणा गर्दै फिल्मको तयारी सुरु गरेको हो। ‘मन विनाको धन’ले गत वर्ष करिब ४ करोड ग्रस कलेक्सन गर्दै राम्रो व्यापार गरेको थियो। अब यसको दोस्रो श्रृंखला पनि निर्देशक टंक बुढाथोकीकै निर्देशनमा बन्ने भएको छ।
टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति रहने फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। फिल्मको कथा र संगीत पनि टंक बुढाथोकीकै रहने बताइएको छ।
यसैबीच फिल्मको मुख्य भूमिकाका लागि अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन्। पूजा शर्मा र निर्माण टिमबीच औपचारिक सम्झौता भईसकेको छ।
भदौ महिनाबाट फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ। अन्य कलाकारको नाम भने अहिले सार्वजनिक गरिएको छैन।
निर्देशक टंक बुढाथोकीले अहिले फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। उनले भने, “सुरुवातमै पूजा शर्मालाई फिल्ममा अनुबन्धित गरेका छौं। अब अन्य कलाकारलाई पनि क्रमशः फाइनल गर्दै जानेछौं।”
अभिनेत्री पूजा शर्माले पनि फिल्मको कथा र टिम मन परेकै कारण आफू जोडिएको बताएकी छन्। उनले भनिन्, “फिल्मको कथावस्तु निकै पारिवारिक र भावनात्मक छ। मेरो भूमिका पनि निकै राम्रो लागेको छ।”
फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गर्नेछिन्।
यो पनि पढ्नुहोस्: पारिवारिक सम्बन्धको उतारचढाव देखाउँदै ‘काजी’ फिल्मको ट्रेलर रिलिज
