
अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको सास जोगाउने हातहरू कहिलेकाहीँ आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन्। सेतो कोटभित्र कति थकान, कति आँसु र कति त्याग लुकेको हुन्छ भन्ने कुरा धेरैले देख्दैनन्। मंगलबार नेपाल मेडिकल कलेजको सभा हलमा मञ्चन गरिएको ‘सेतो कोटको पछाडिको पीडा’ नाटकले त्यही अदृश्य यथार्थलाई सबैको आँखाअघि जीवित बनाइदियो।
अन्तर्राष्ट्रिय नर्सिङ डेको अवसरमा नर्सिङ विभागद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको नाटकले केवल अभिनय मात्र गरेन, स्वास्थ्यकर्मीहरूको वास्तविक भोगाइलाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गर्यो। स्टेजमा देखाइएका दृश्यहरू कुनै काल्पनिक कथा थिएनन्, ती अस्पतालभित्र दिनहुँ दोहोरिने यथार्थ थिए।
नाटक सुरु भएसँगै सभाहल भावुक बनेको थियो। एउटी आमाले आफ्नो सम्पूर्ण संघर्ष सन्तानलाई डाक्टर बनाउन समर्पित गरेको कथा देखाइएको थियो भने अर्कोतर्फ एउटी नर्स आफ्नै काखे शिशुलाई घरमा छाडेर बिरामीको सेवामा खटिएको दृश्यले धेरैलाई स्तब्ध बनायो।

परिवारभन्दा पेशालाई प्राथमिकता दिनुपर्ने बाध्यता, लगातार डबल ड्युटी, चाडपर्वमा घर जान नपाउने अवस्था र बिरामी बचाउन नसक्दा आफैं दोषी ठहरिनुपर्ने पीडालाई कलाकारहरूले अत्यन्त यथार्थ ढंगले प्रस्तुत गरेका थिए। बिरामीको मृत्यु भएपछि उपचारमा संलग्न डाक्टर र नर्समाथि हुने दुर्व्यवहार, आक्रमण र मानसिक यातनाको दृश्यले दर्शकदीर्घामा बसेकाहरूका आँखा रसाएका थिए।
कार्यक्रममा उपस्थित धेरै चिकित्सक र नर्सहरूका लागि त्यो नाटक केवल प्रस्तुति मात्र थिएन, आफ्नै जीवनको प्रतिबिम्ब बनेको थियो। केहीबेर सभाहल पूर्ण रूपमा मौन बनेको दृश्यले नाटकले छोएको भावनात्मक प्रभाव स्पष्ट देखिन्थ्यो।
कार्यक्रमकी प्रमुख अतिथि तथा कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नाटकले स्वास्थ्यकर्मीहरूको वास्तविक पीडालाई अत्यन्त प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “कुनै पनि स्वास्थ्यकर्मी बिरामीलाई हानि पुर्याउने उद्देश्यले उपचार गर्दैन। अन्तिम क्षणसम्म जीवन बचाउन इमान्दारितापूर्वक प्रयास भइरहेको हुन्छ।” उहाँले स्वास्थ्यकर्मीलाई सम्मान र सुरक्षित वातावरण दिनुपर्नेमा जोड दिनुभयो।

कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारीले नर्सहरूको योगदान स्वास्थ्य सेवामा अतुलनीय रहेको बताउँदै उनीहरूको पेशागत सुरक्षा र क्षमता विकासमा कलेज सधैं सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणि उपाध्याय तथा मेट्रोन नविना सिंहले पनि नर्सहरूको सेवा, समर्पण र भूमिकाको प्रशंसा गरेका थिए।
सप्ताहव्यापी रूपमा मनाइएको नर्सिङ डे अन्तर्गत चित्रकला, हाजिरीजवाफ, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो। कार्यक्रममा उत्कृष्ट हुने सहभागीहरूलाई सम्मान गरिएको थियो भने नर्सिङ विद्यार्थीहरूले फ्लोरेन्स नाइटिङ्गेलको योगदान स्मरण गर्दै सेवा, त्याग र समर्पणको भावलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए।
