ग्ल्यामर नेपाल, काठमाडौं । राजधानीको शान्तिनगरस्थित कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका छोराछोरीलाई आर्थिक सहयोग जुटाउन आयोजना गर्न लागिएको च्यारिटी शोमा सहभागिता जनाउन बलिउडका अभिनेता, निर्माता तथा निर्देशक अनुपम खेर बिहीबार काठमाडौं आइपुगेका छन् ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बित्तिकै उनी शान्तिनगरमा रहेको कोशेली फाउन्डेसनमा पुगी त्यहाँ रहेका बालबालिकालाई भेटेका थिए । बालबालिकासँग खिचेको फोटो उनले ट्वीटरमा ट्वीट गर्दै फाउन्डेसनले गरेको संरक्षणको कामको सराहना गरेका थिए । आयोजकका अनुसार शुक्रबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा खेरकै जीवनीमा आधारित नाटक ‘कुछ भि हो सकता हे’ को मञ्चन गरिनेछ । यो नामको कार्यक्रम अनुपमले हाल भारतीय च्यानल कलर्समा चलाउँदै आएका छन् ।
उक्त कार्यक्रममा अनुपमले आफ्ना जीवनका रमाइला अनुभव पनि सुनाउने छन् भने राजधानी बसाईमा उनले पशुपतिनाथको दर्शन पनि गर्नेछन् ।