‘लालीबजार’को सफलता: दर्शकको माया कि बलियो कथा? पूरा गर्‍यो प्रदर्शनको ५१ दिन

नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ। यम थापा निर्देशित फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा लगायत कलाकारको अभिनय छ।


नेपाली फिल्म बजारमा यो वर्ष दर्शकको मन जित्न सफल फिल्ममध्ये ‘लालीबजार’ पनि अगाडि देखिएको छ। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। सामाजिक कथावस्तु, बलियो प्रस्तुति र कलाकारहरूको अभिनयका कारण फिल्मले हलमा लामो यात्रा तय गरेको हो।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ले काठमाडौं उपत्यकासहित देशका विभिन्न हलमा ५१ दिनको उपलब्धि हासिल गरेको निर्माण पक्षले जनाएको छ। फिल्मले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सिके सिनेमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज बुटवल र इलाम तथा नेपालगञ्जको सिने रोयलमा ५१औँ दिन पूरा गरेको हो।

फिल्मका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले यो सफलतालाई दर्शकसँगै साट्न टिम दिनभर विभिन्न हलमा पुगेर दर्शक भेटघाटमा सहभागी भएको बताए।

उनले षट्कोण आर्ट्सले निर्माण गरेका अघिल्ला फिल्मझैँ यसपटक पनि दर्शकबाट माया पाएको भन्दै आभार व्यक्त गरे। उनका अनुसार ‘लालीबजार’ले नेपालमा ५१ दिन पूरा गरेसँगै अब डायस्पोरा प्रदर्शनलाई पनि अगाडि बढाएको छ।

फिल्म हाल युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको छ। क्रमशः जापान, अस्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

व्यावसायिक हिसाबले पनि ‘लालीबजार’ यो वर्षका सफल नेपाली फिल्ममध्ये एक बनेको छ। उपलब्ध रिपोर्टअनुसार फिल्मले घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ र अब १० करोड क्लब नजिक पुगेको छ।

फिल्मको निर्देशन यम थापाले गरेका हुन्। यसअघि षट्कोण आर्ट्सले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल फिल्म निर्माण गरिसकेको छ। यही कारण ‘लालीबजार’प्रति दर्शक र फिल्म क्षेत्रमा सुरुदेखि नै चासो थियो।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरी लगायत कलाकारको अभिनय छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्। विशाल रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभिनेत्रीका रूपमा चिनिन्छिन्।

‘लालीबजार’को पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

५१ दिनको सफलताले ‘लालीबजार’लाई केवल व्यापारिक सफलता मात्र दिएको छैन, नेपाली फिल्ममा दर्शकले अझै पनि बलियो कथा र इमानदार प्रस्तुति खोजिरहेका छन् भन्ने सन्देश पनि दिएको छ।


यो पनि पढ्नुहोस्: सगरमाथाको ऐतिहासिक कथा बोकेको हलिउड फिल्म ‘Tenzing’


SUBSCRIBE 👉