
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ। मुख्य अभिनेता विजय बराल घाइते भएपछि केही समय रोकिएको चलचित्रको छायांकन दुई चरणमा गरी मंगलबार पूरा गरिएको हो।
गत जेठ १ गते पर्वतको कुश्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट चलचित्रको छायांकन सुरु भएको थियो। तर, छायांकनको यात्रा भने सहज रहेन।
लगातार १५ दिन छायांकन गरेपछि अभिनेता विजय बरालको दाहिने हातको नाडीमा चोट लागेको थियो। उनी घाइते भएपछि निर्माण टोलीले केही समयका लागि छायांकन स्थगित गर्नुपरेको थियो। विजय पूर्ण रूपमा स्वस्थ भएपछि दोस्रो चरणको छायांकन सुरु गरिएको थियो।
निर्देशक सरोज पौडेलका अनुसार दुई चरणमा गरिएको चलचित्रको छायांकन पूरा गर्न कुल ४० दिन लागेको छ। उनले राम्रो चलचित्र निर्माणका लागि कलाकार तथा प्राविधिक टोलीले गरेको मेहनतप्रति धन्यवाद व्यक्त गरेका छन्।
“हामीले धैर्य र मेहनत गरेर राम्रो सिनेमा खिच्ने प्रयास गरेका छौँ। यो मेहनत र लगावका लागि म मेरो सबै टिमलाई धन्यवाद भन्न चाहन्छु,” निर्देशक पौडेलले भने, “मंसिर ४ गते दर्शकले एउटा राम्रो चलचित्र हलमा हेर्न पाउनुहुनेछ।”
‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल तथा कलाकारद्वय विजय बराल र अञ्जना बराइलीले दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनीहरूले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए।
चोटका बाबजुद छायांकन पूरा गरेका अभिनेता विजय बरालले यो चलचित्रको काम आफ्ना लागि चुनौतीपूर्ण र सन्तोषजनक रहेको बताएका छन्।
“हातको चोटका कारण यो पटकको सुटिङ केही कठिन भयो, तर म फिल्मको विषयवस्तु र मेरो पात्रलाई लिएर निकै उत्साहित छु,” विजयले भने।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायत कलाकारको अभिनय छ।
चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् भने पटकथा लेखनमा सबिन अधिकारी र वसन्त न्यौपाने रहेका छन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा आकाश, सुमन रञ्जित र श्याम मगर सहनिर्माता छन्। पदमबहादुर श्रेष्ठ ‘बाबु’ले छायांकन गरेको चलचित्रलाई नहकुल खड्काले सम्पादन गर्नेछन्।
चलचित्रमा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते प्रदर्शनमा आउनेछ।

