‘पच्चीस पच्चीस’ घोषणा: अभिषेक, खुशी र प्रमोद मुख्य भूमिकामा, ‘भक्ते भाइ’को नेपाली फिल्ममा डेब्यु

सामाजिक कमेडी कथामा बन्न लागेको चलचित्र ‘पच्चीस पच्चीस’को औपचारिक घोषणा गरिएको छ। सुब्रत आचार्य निर्देशित फिल्ममा अभिषेक खड्का, खुशी कार्की, प्रमोद अग्रहरी र दार्जिलिङका चर्चित ‘भक्ते भाइ’ अमित सुब्बा देखिनेछन्।

चलचित्र ‘पच्चीस पच्चीस’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूको औपचारिक घोषणा गरिएको हो।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रलाई निर्देशक सुब्रत आचार्यले निर्देशन गर्नेछन्। रंग पत्रकारिता र निर्देशनमा लामो अनुभव सँगालेका आचार्यले यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। थुप्रै म्युजिक भिडियोसमेत निर्देशन गरेका आचार्यको यो तेस्रो फिचर चलचित्र हो।

चलचित्रमा अभिषेक खड्का र खुशी कार्की मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै अभिनेता प्रमोद अग्रहरीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ। फरक चरित्रमा प्रभावशाली अभिनय गर्दै आएका प्रमोदको उपस्थितिले चलचित्रप्रति थप चासो बढाएको छ।

‘पच्चीस पच्चीस’को अर्को आकर्षण दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा हुन्। सामाजिक सञ्जालमा ‘भक्ते भाइ’का नामले परिचित अमितले यही चलचित्रमार्फत नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन्।

‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत ठेट र रैथाने शैलीका हाँस्य भिडियो बनाउँदै आएका अमित नेपाल, दार्जिलिङ र सिक्किमका दर्शकमाझ लोकप्रिय छन्। लाखौँ दर्शकको मन जितिसकेका उनलाई पहिलोपटक ठूलो पर्दामा उतार्न लागिएको हो।

चलचित्रका निर्माता कर्ण कार्की हुन्। बैंक, क्याफे, सलुन तथा एक्स्पोर्ट–इम्पोर्टलगायत विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय कार्कीले गत वर्ष ‘होस्टेल ३’मार्फत चलचित्र निर्माणमा प्रवेश गरेका थिए। ‘पच्चीस पच्चीस’ उनको दोस्रो चलचित्र निर्माण हो।

चलचित्रमा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण सहनिर्माताका रूपमा छन् भने दीपेन्द्र गौतम ‘माइकल’ले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन्। प्रकाश कँडेल र मनिषा राउत लाइन प्रोड्युसर हुन्।

चलचित्रको कथा सुब्रत आचार्य र जयाले लेखेका हुन् भने पटकथा सुशील देवकोटाको हो। हरि हुमागाईंले छायांकन निर्देशन गर्नेछन्। चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले तयार गर्नेछन्।

निर्माण पक्षका अनुसार चलचित्र छिट्टै छायांकनमा जानेछ। सामाजिक कमेडी कथामा बन्न लागेको ‘पच्चीस पच्चीस’ले मनोरञ्जनसँगै नेपाली समाजको कथा प्रस्तुत गर्ने दाबी गरिएको छ।

निर्देशक आचार्यले चलचित्र नेपाली माटो सुहाउँदो हुने बताएका छन्। घोषणा समारोहमा उपस्थित कलाकारहरूले पनि चलचित्रलाई लिएर उत्साह व्यक्त गरेका थिए।