‘कमला मिस’ को भव्य प्रिमियर, दर्शकले गरे खुलेर प्रशंसा

बालमनोविज्ञान, आमाको माया, शिक्षक–विद्यार्थी सम्बन्ध र पारिवारिक संवेदनालाई समेटिएको निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित चलचित्र ‘कमला मिस’ को काठमाडौंस्थित जयनेपाल हलमा भव्य प्रिमियर सम्पन्न भएको छ।

प्रिमियरमा सहभागी चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीले चलचित्रको विषयवस्तु, प्रस्तुति र सामाजिक सन्देशको प्रशंसा गरेका छन्।

बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी र माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तनलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। यससँगै एक महिलाले जीवनमा सामना गर्नुपरेका संघर्षलाई पनि चलचित्रले संवेदनशील ढंगले चित्रण गरेको दर्शकहरूको प्रतिक्रिया छ।

चलचित्रले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका विषयलाई प्रभावकारी रूपमा उठाएको उनीहरूले बताएका छन्।

प्रिमियर कार्यक्रममा प्याब्सन र एनप्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, चलचित्रकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले ‘कमला मिस’ मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने अर्थपूर्ण चलचित्र बनेको प्रतिक्रिया दिएका छन्।

विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले बालमनोविज्ञान, शिक्षक–विद्यार्थीबीचको आत्मीय सम्बन्ध र अभिभावकको भूमिकालाई चलचित्रले अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेको बताए। उनीहरूले प्रत्येक शिक्षक, अभिभावक र विद्यार्थीले चलचित्र एकपटक हेर्नुपर्ने धारणा राखेका छन्।

वरिष्ठ कलाकार निर शाहको निर्देशनमा बनेको ‘कमला मिस’ लाई साहित्य, समाज र शिक्षालाई चलचित्रमार्फत जोड्ने प्रयासका रूपमा हेरिएको छ। प्रिमियरमा उपस्थित अधिकांश दर्शकले चलचित्रले भावुक बनाउनुका साथै जीवनका महत्वपूर्ण पक्षबारे गम्भीर रूपमा सोच्न प्रेरित गरेको प्रतिक्रिया दिएका छन्।

चलचित्रमा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी ‘भोला’ र सञ्जय खतिवडालगायत कलाकारको अभिनय छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई हुन्। पुष्कर लामा ‘प्रेम भोम्जन’ लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

विजय मल्लको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पृष्ठभूमि संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ तथा रामजी लामिछानेको कोरियोग्राफी छ।

‘कमला मिस’ लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्दै छन्।

पारिवारिक तथा शैक्षिक विषयवस्तुमा आधारित ‘कमला मिस’ साउन २२ गते शुक्रबार अर्थात् ७ अगस्ट २०२६ देखि देशभरका चलचित्र हलमा प्रदर्शन हुँदै छ। निर्माण पक्षले सामाजिक सन्देश बोकेको चलचित्रले सबै उमेर र वर्गका दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।