कान्समा सम्मानित ‘इलिफेन्ट्स इन द फग’ अब दर्शकमाझ आउँदै

कान्समा जुरी च्वाइस अवार्ड जितेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले हराएकी छोरी खोजिरहेकी आमाको संघर्ष र हात्तीको आतंकमा बाँचेको गाउँको कथा प्रस्तुत गर्छ।

प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको म्युजिकल ट्रेलर दर्शकमाझ ल्याएको हो।

सार्वजनिक ट्रेलरले हराएकी छोरीको खोजीमा भौंतारिएकी आमाको पीडा, छटपटी र संघर्षलाई केन्द्रमा राखेको छ। सन्तान हराउँदाको वेदना, प्रहरीसमक्ष गरिएको आग्रह र आफ्नै आफन्तबाट सामना गर्नुपरेको शंकाले कथालाई भावनात्मक तथा रहस्यमय बनाएको छ।

ट्रेलरमा जंगली हात्तीको त्रासमा बाँचिरहेको सिंगो गाउँको अवस्था पनि प्रस्तुत गरिएको छ। हात्तीले गाउँमा निम्त्याएको भय र त्यसले स्थानीयको जीवनमा पारेको असर देखाइए पनि ट्रेलरमा हात्तीलाई प्रत्यक्ष देखाइएको छैन। यही प्रस्तुतिले चलचित्रप्रति थप कौतूहल जगाएको छ।

आफ्नी छोरी अप्सरालाई खोजिदिन प्रहरीसँग आमाले गरेको आग्रह, परिवार तथा आफन्तबाट उठाइएका प्रश्न र छोरीको खोजीका लागि उनले गरेको संघर्ष ट्रेलरका प्रमुख पक्ष हुन्। मुख्य पात्रको हतासपन, आक्रोश र मानसिक द्वन्द्वलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ।

क्याची बिटमा तयार गरिएको गीतमा तेस्रोलिंगी समुदायका व्यक्तिहरू नृत्य गरिरहेको दृश्य समावेश छ। भोजपुरी संगीतको लयसँग नजिक रहेर कम्पोज गरिएको गीतको ताल र दृश्य संयोजनले म्युजिकल ट्रेलरलाई आकर्षक बनाएको छ।

ट्रेलरमा कसैको बलि चढाइरहेको जस्तो देखिने दृश्यले कथामा थप सस्पेन्स सिर्जना गरेको छ। हराएकी बालिका, भयग्रस्त गाउँ र रहस्यमय घटनाक्रमको सम्बन्ध के हो भन्ने प्रश्न ट्रेलरले अनुत्तरित राखेको छ।

Elephants in The Fog ट्रेलर हेर्नुहोस्

‘तिनीहरु: इलिफेन्ट्स इन द फग’ विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले हासिल गरेको अहिलेसम्मकै ठूलो सफलतामध्ये एकपछि नेपालमा प्रदर्शन हुन लागेको चलचित्र हो। कान्समा जुरी च्वाइस अवार्ड जितेपछि यो चलचित्र घरेलु दर्शकमाझ पनि प्रतीक्षित बनेको छ।

अविनाश विक्रम शाह निर्देशित चलचित्रले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ। चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।

नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण गरिएको हो।

चलचित्रका निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स छन्। सहनिर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल छन्।

चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रका एसोसिएट निर्मातामा अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सहनिर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एसोसिएट निर्माताका रूपमा आबद्ध छन्।

निर्देशक शाहकै पटकथा रहेको चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन्।

सार्वजनिक म्युजिकल ट्रेलरमा समावेश गीतमा लव कर्णको शब्द तथा शिवानी भगत र देव अहिररावको स्वर छ। यो चलचित्र भदौ १९ गते रिलिज हुदैछ।

यसअघि आफ्नो लघु चलचित्र ‘लोरी’बाट कान्समा पुरस्कार जितिसकेका अविनाश विक्रम शाह चलचित्र ‘कालो पोथी’, ‘शाम्बाला’ तथा लिमिटेड सिरिज ‘सिंहदरबार’का पटकथाकारसमेत हुन्।