‘समर लभ’ नाटकको उत्साहजनक सुरुवात, अर्पण थापाको रंगमञ्चमा डेब्यु

सुविन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’ मा आधारित नाटकले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। अभिनेता अर्पण थापाले पनि यही नाटकबाट पहिलो पटक रंगमञ्चमा अभिनय गरेका छन्।

सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमध्ये एक ‘समर लभ’ अब रंगमञ्चमा आएको छ। सम्राट भुजेलको निर्देशनमा तयार नाटकले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ भने नेपाली चलचित्रका चर्चित अभिनेता अर्पण थापाले यसै नाटकबाट पहिलो पटक रंगमञ्चमा अभिनय गरेका छन्।

श्रावण २९ गतेदेखि मञ्चन सुरु भएको ‘समर लभ’ का सुरुवाती शोमै दर्शकको उल्लेख्य चासो देखिएको छ। नाटकका पहिलो दुई दिनका चारै शो तीन दिनअघि नै हाउसफुल भएका थिए। भोलिका दुवै शोका टिकटसमेत अग्रिम बुकिङ भइसकेका छन्।

यसअघि कान्तिपुर थिएटरले मञ्चन गरेको ‘सेतो धरती’ ले १०१ शो पूरा गर्दै नेपाली रंगमञ्चमा कीर्तिमान बनाएको थियो। त्यसपछि थिएटरले लोकप्रिय साहित्यिक कृतिमाथि आधारित अर्को प्रस्तुति ‘समर लभ’ दर्शकमाझ ल्याएको हो।

नाटकको अर्को प्रमुख आकर्षण अर्पण थापाको रंगमञ्च प्रवेश हो। नेपाली चलचित्रमा फरक चरित्र र अभिनयका कारण परिचित थापाले ‘समर लभ’ मार्फत थिएटर अभिनयको यात्रा सुरु गरेका छन्।

नाटकमा सागर खनाल, वास्ना तिमिल्सिना, विनिता गिरि, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं मुख्य भूमिकामा छन्।

पछिल्लो समय कान्तिपुर थिएटर नेपाली चलचित्र, साहित्य र रंगमञ्चलाई जोड्ने माध्यमका रूपमा अघि बढिरहेको छ। अर्पण थापाभन्दा अघि रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमाल, शनिशा भट्टराई र मनोज गजुरेललगायत कलाकारले पनि यही थिएटरमार्फत पहिलो पटक रंगमञ्चमा अभिनय गरेका थिए।

कान्तिपुर फिल्म एकेडेमीको थिएटर प्रोडक्सन ‘समर लभ’ बुधबारबाहेक हरेक दिन दिउँसो १:१५ बजे र साँझ ५:१५ बजे मञ्चन भइरहेको छ। करिब १ घण्टा ५० मिनेट लामो नाटकको टिकट कान्तिपुर थिएटरको वेबसाइटमार्फत अनलाइन बुकिङ गर्न सकिन्छ।

यसैबीच, कान्तिपुर थिएटरको चर्चित नाटक ‘सेतो धरती’ काठमाडौं बाहिर पनि पुग्ने तयारीमा छ। नाटकलाई विराटनगर, पोखरा र चितवनमा मञ्चन गर्ने तयारी भइरहेको छ।

काठमाडौंमा ‘समर लभ’ र मोफसलका सहरमा ‘सेतो धरती’ को मञ्चनमार्फत नेपाली रंगमञ्चको पहुँच अझ फराकिलो बनाउने विश्वास कान्तिपुर थिएटरले लिएको छ।