
Bikash Subedi’s ‘Shirjara: The Song of Grandmother’ Selected for Tokyo Gap-Financing Market
निर्देशक विकास सुवेदीको नयाँ चलचित्र ‘शिरजरा: द सङ्ग अफ ग्रान्डमदर’ जापानको प्रतिष्ठित टोकियो चलचित्र ‘ग्याप फाइनान्सिङ मार्केट’मा छनोट भएको छ। विश्वभरबाट प्राप्त सयौँ परियोजनामध्ये उत्कृष्ट २४ मा स्थान बनाएको ‘शिरजरा’ यस वर्ष नेपाल र भारतसहित सम्पूर्ण दक्षिण एसियाबाट छनोट हुने एकमात्र चलचित्र बनेको छ।
टोकियो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत आयोजना हुने यस लगानी तथा निर्माण बजारमा ‘शिरजरा’ले कान्स, बर्लिन र भेनिसजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा स्थापित फिल्ममेकरका परियोजनासँगै स्थान बनाएको हो।
यस वर्षको औपचारिक छनोट सूचीमा निर्देशक सुवेदीसँगै विश्व सिनेमाका चर्चित फिल्ममेकरहरूका परियोजना समावेश छन्। सूचीमा कान्स चलचित्र महोत्सवमा पुरस्कार जितेका सिंगापुरका निर्देशक जुनफेङ बु, कान्स र भेनिसमा स्थापित कजाकिस्तानका निर्देशक आदिलखान येर्जानाभ तथा कान्स विजेता चलचित्र ‘टाइगर स्ट्राइप्स’को निर्माण कम्पनी इन्डोनेसियाको कावानकावान मिडियाका परियोजना छन्।
त्यस्तै, भेनिस विजेता भियतनामी निर्देशक डिएप नुएन होआङ र बर्लिन चलचित्र महोत्सवमा आफ्ना चलचित्रहरू प्रदर्शन गरिसकेका ब्राजिलियन निर्देशक माथियास मारियानीका परियोजनासमेत छनोट सूचीमा परेका छन्। यस्ता अन्तर्राष्ट्रिय फिल्ममेकरसँगै नेपाली निर्देशक र चलचित्रको नाम एउटै सूचीमा समावेश हुनु नेपाली चलचित्रका लागि उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।
किङ्डम नेटवर्कको निर्माणमा बन्न लागेको ‘शिरजरा’ उच्च-अवधारणामा आधारित कथामा निर्माण हुनेछ। चलचित्रले आधुनिक कृत्रिम बौद्धिकता, मानवीय संवेदना, पुर्ख्यौली चेतना र हिमाली प्रकृतिलाई एउटै कथाभित्र जोड्ने प्रयास गर्ने निर्माण पक्षले जनाएको छ।
कथाअनुसार, मानवीय संवेदना र भावना बुझ्न सक्ने डिजिटल संवेदना प्रविधि विकास गर्न तल्लीन एक आधुनिक कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञ आफ्नी हजुरआमासँग पुर्ख्यौली थलो नेपाल पुग्छिन्।
करिब पाँच हजार मिटरको उचाइमा पुगेपछि उनको यात्रा केवल प्रविधिको खोजीमा सीमित रहँदैन। प्रकृतिसामु आधुनिक प्रविधिको अहंकार कसरी निरिह बन्छ र उनले खोजिरहेको मानवीय संवेदनाको तथ्यांक बाहिरी संसारमा नभई आफ्नै पुर्खाको रगत र चेतनामा पहिलेदेखि सुरक्षित रहेको सत्य कसरी महसुस गर्छिन् भन्ने दार्शनिक तथा आध्यात्मिक यात्रालाई चलचित्रले केन्द्रमा राख्नेछ।
टोकियोको यही बजारसँग नेपाली चलचित्रको यसअघि पनि उल्लेखनीय सम्बन्ध रहिसकेको छ। सन् २०२० मा निर्देशक मीनबहादुर भामको चलचित्र ‘शाम्बाला’ यही बजारमा छनोट हुँदै उत्कृष्ट परियोजनाको पुरस्कार जित्न सफल भएको थियो।
पछि ‘शाम्बाला’ सन् २०२४ मा प्रतिष्ठित बर्लिन चलचित्र महोत्सवको मुख्य प्रतिस्पर्धामा सहभागी भएर इतिहास रच्न सफल भयो।
‘शिरजरा’को टोकियो छनोटसँगै निर्माण टोलीले अब अन्तर्राष्ट्रिय वितरक तथा युरोपेली सह-निर्मातासँग प्रत्यक्ष बैठक गर्ने अवसर पाउनेछ। ती छलफल चलचित्रको निर्माण, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्वव्यापी प्रदर्शनको सम्भावनामा केन्द्रित हुनेछन्।
आधुनिक प्रविधि र परम्परागत हिमाली चेतनाको संगममा तयार हुन लागेको ‘शिरजरा: द सङ्ग अफ ग्रान्डमदर’को यो अन्तर्राष्ट्रिय यात्राले नेपाली चलचित्रलाई विश्व मञ्चमा थप परिचित गराउने अपेक्षा गरिएको छ।

