
फिल्म ‘जलाकी’बाट अभिनय यात्रा सुरु गर्दैछिन् साहारा हाङमा लिम्बु। पर्दामा देखिने उनको यो पहिलो पाइला केवल एउटा कलाकारको डेब्यू भने होइन, यससँग जोडिएको छ बुबाको एउटा सुन्दर सपना, अचानक आइपरेको गहिरो वियोग र त्यो पीडाबीच आफूलाई सम्हालेर अघि बढेकी छोरीको भावुक कथा।
‘जलाकी’की शीर्ष अभिनेत्री साहाराको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा मगर पोशाकमा सजिएकी उनी सोचमग्न मुद्रामा देखिएकी छन्। फिल्ममा उनले आधुनिक सोच राख्ने र स्वतन्त्र जीवन रुचाउने युवतीको भूमिका निर्वाह गरेकी छन्। तर साहाराका लागि ‘जलाकी’को यात्रा पर्दामा देखिने कथाभन्दा धेरै गहिरो छ।
फिल्मको छायांकन चलिरहेकै बेला उनले जीवनकै सबैभन्दा ठूलो चोट सहनुपर्यो। सडक दुर्घटनामा उनका बुबाको निधन भयो। छायांकनका लागि काठमाडौं आउनुअघि उनले बुबालाई भेटेकी थिइन्। उनलाई के थाहा, त्यो भेट नै बुबासँगको अन्तिम भेट बन्नेछ।
फिल्ममा काम गर्ने पक्का भएपछि सबैभन्दा पहिले खुसी साटेका व्यक्तिमध्ये उनका बुबा थिए। छोरीलाई अभिनेत्री बनेको देख्ने सपना उनले मनभरि सजाएका थिए।
त्यो क्षण सम्झिँदै साहारा भन्छिन्, ‘मैले जलाकीमा काम गर्ने फाइनल भएपछि सुरुमा बाबालाई भनेकी थिए। उहाँ एकदमै खुसी हुनुभएको थियो। बाबाले अर्को पटक तिमी अभिनेत्री भएर फर्किन्छौ, म तिमीलाई यही बाटोमा खादा लिएर स्वागत गर्न आउने छु, भन्नुभएको थियो तर त्यो सपना अधुरै रह्यो।’
बुबाको त्यो प्रतीक्षा कहिल्यै पूरा हुन पाएन। छोरी अभिनेत्री भएर फर्किने बाटोतिर खादा बोकेर उभिने उनको सपना बीचमै रोकियो। तर साहाराले बुबाको सपना रोक्न दिइनन्।
बुबाको अन्तिम बिदाइ गरेको चार दिनमै उनी फेरि फिल्मको सेटमा फर्किइन्। मन शोकले भरिएको थियो, शरीर र मन दुवै कामका लागि तयार थिएनन्। तर उनलाई एउटा कुराले निरन्तर अघि बढाइरह्यो—बुबाले उनलाई ठूलो पर्दामा देख्न चाहेका थिए।
‘मलाई सिल्भर स्क्रिनमा हेर्ने सपना मेरो भन्दा पनि ठूलो बुबाको सपना थियो। म बुबाको सपना अधुरो रहोस् भन्ने चाहन्थेँ। त्यसैले छिटै काममा फर्किहालेँ,’ उनले भनिन्, ‘ममी र दिदीले पनि बाबाको सपना पूरा गर जाऊ भनेर थप हौसला र हिम्मत दिनुभयो । उहाँहरूकै हिम्मतले फर्केर सुटिङ गर्न सकेँ।’
साहाराका अनुसार सिनेमा क्षेत्रमा आउने उनको चाहनालाई परिवार र समाजका विभिन्न चुनौतीबीच सबैभन्दा बलियो साथ दिने व्यक्ति पनि उनका बुबा नै थिए। त्यसैले आज अभिनयमा उनले चालिरहेको हरेक पाइला आफ्नो मात्र नभएर बुबाको सपनातर्फको यात्रा पनि हो।
सेटमा फर्किए पनि मनभित्रको पीडा भने सजिलै कम भएको थिएन। ती कठिन रातहरू सम्झिँदै उनी भन्छिन्, ‘म सुटिङ गर्ने अवस्थामा थिइनँ। रातभर निन्द्रा लाग्दैन थियो। रातभर टोलाएर बस्थेँ। बिहान ४ बजे प्रोडक्सन टिमको फोन आउँदा झस्किन्थेँ। अनि यत्तिकैमा सुटिङमा जान्थे। तर कसैलाई भनिनँ। मनमा क्यामेरामा नसुतेकोजस्तो नदेखियोस् भन्ने डर भैरहन्थो। त्यतिबेला बाबाकै सपना पूरा गर्नुपर्छ भन्ने भावनाले झन् बलियो बनायो।’
क्यामेराअगाडि उनले पात्रको भावना बोकिरहेकी थिइन्, तर क्यामेरापछाडि आफ्नै जीवनको गहिरो पीडा लुकाइरहेकी थिइन्। त्यही पीडाबीच उनले अभिनय पूरा गरिन्।
साहाराले मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी छन्। उनी अडिसनमार्फत ‘जलाकी’का लागि छनोट भएकी हुन्। यसअघि उनले मिस टिन इन्डिया २०२२ र मिस टिन २०२२ को उपाधि जितिसकेकी छन् भने मिस इन्डिया सिक्किम २०२४ मा पनि सहभागी भएकी थिइन्।
उनका लागि ‘जलाकी’ केवल पहिलो फिल्म होइन, ‘ड्रिम प्रोजेक्ट’ हो। फिल्मका लागि गरेको मेहनत, भोगेको व्यक्तिगत पीडा र यससँग जोडिएको बुबाको सपनाका कारण पनि उनी प्रदर्शनको समयलाई लिएर विशेष उत्साहित छिन्।
फिल्मको कथासँग पनि आफू भावनात्मक रूपमा जोडिएको साहारा बताउँछिन्। ‘जलाकीमा मैले अभिनय गरेको चरित्र व्यक्तिगत जीवनमा पनि एकदमै कनेक्ट गर्न सकेँ । म मात्र नभएर वान साइडेड लभर सबैले कनेक्ट गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ ।’
अब ‘जलाकी’सँगै साहाराको जीवनको एउटा नयाँ अध्याय पनि पर्दामा खुल्दैछ। उनलाई खादा लिएर स्वागत गर्न बुबा बाटोमा उभिन सक्ने छैनन्, तर उनले देखेको सपना भने छोरीको अभिनयमार्फत ठूलो पर्दासम्म पुग्दैछ।
अशोक थापामगरको निर्देशनमा बनेको ‘जलाकी’ मंसिर ४ देखि प्रदर्शनमा आउने तयारीमा छ।

