बाल प्रतिभाका लागि नयाँ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ विजेतालाई तीन लाख पुरस्कार

‘डान्स, ड्रीम, शाइन’ नारासहित सुरु भएको ‘लिटल डान्सिङ च्याम्प’मा देशभरका ५० बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गर्दैछन्। विजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

Little Dancing Champ Nepal

बालबालिकाको नृत्य प्रतिभासँगै व्यक्तित्व, सिर्जनशीलता र आत्मविश्वासलाई केन्द्रमा राखेर निर्माण गरिएको एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’को प्रसारण सुरु भएको छ। देशभरबाट छनोट भएका ५० बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गरिरहेको शो परम्परागत डान्स रियालिटी शोभन्दा फरक शैली र छिटो प्रस्तुतिमा तयार गरिएको छ।

‘डान्स, ड्रीम, शाइन’ नारासहित निर्माण गरिएको शोको पहिलो र दोस्रो एपिसोड ‘द च्याम्पियन्स राउन्ड’मा केन्द्रित छ। पहिलो चरणमा ५० जना प्रतियोगीले एउटै मञ्चमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नेछन्।

प्रतियोगीहरूको प्रस्तुतिको मूल्यांकन केशव थापा, बबिता पोखरेल र सरोज प्रजाले निर्णायकका रूपमा गर्नेछन्। शोको होस्ट त्रिदेवी श्रेष्ठ र रोजिन शाक्यले गर्नेछन्।

नेपालमा यसअघि देखिँदै आएका डान्स रियालिटी शोको तुलनामा छिटो गतिमा अगाडि बढ्ने गरी तयार गरिएको भएकाले यसलाई एक्स–प्रेस शो भनिएको हो। शोमा प्रतियोगितालाई नृत्य प्रस्तुतिमा मात्र सीमित नराखी बाल प्रतिभाको व्यक्तित्व, सिर्जनशीलता, प्रस्तुति क्षमता र स्टेज आत्मविश्वासलाई पनि प्राथमिकता दिइएको छ।

एक्स–प्रेस फर्म्याटमा अगाडि बढ्ने प्रतियोगितामा विभिन्न चरण, चुनौती, मूल्यांकन तथा दर्शक सहभागितामार्फत बाल प्रतिभालाई अगाडि बढाउने अवधारणा समेटिएको छ।

ह्वाइट फेदर्स इन्टरटेन्मेन्टको आयोजना र जिनो टेक इन्टरनेशनलको व्यवस्थापनमा निर्माण भएको शोमा जिनो स्टुडियोज, पेप्सीकोला स्टुडियो पार्टनर तथा जिनो पेय भोटिङ पार्टनरका रूपमा रहेका छन्।

कार्यक्रमकी निर्माता त्रिदेवी श्रेष्ठ हुन् भने निर्देशन शानु खानले गरेका छन्। सहायक निर्देशकमा प्रमित बख्रेल रहेका छन्। व्यवस्थापनतर्फ स्वीकृति ढकाल, मनिषा बीके, सनिल महर्जन, आर्शु महर्जन, विनोद पोखरेल र सुन्दर हाकाजु रहेका छन्।

शोका विजेताले नगद तीन लाख रुपैयाँसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्न सक्ने बताइएको छ।

‘लिटल डान्सिङ च्याम्प’ हरेक शनिबार साँझ ९ बजे कास्ठमण्डब गोल्ड एचडी टेलिभिजनबाट प्रसारण हुन्छ। शो हाइलाइट नेपालको युट्युब च्यानलमा पनि हेर्न सकिन्छ।

SUBSCRIBE 👉