
मदन थापाको निर्देशनमा बनेको नेपाली फिल्म ‘परिवार’को प्रदर्शन मिति तय भएको छ। रे अफ आर्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म आगामी कात्तिक १३ गतेदेखि हलमा प्रदर्शन हुने भएको हो।
फिल्मको पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई महिलाको भेषमा प्रस्तुत गरिएको छ भने अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको भेषमा देखाइएको छ। मुख्य कलाकारको यस्तो फरक प्रस्तुतीकरणले फिल्मको कथाप्रति कौतूहल बढाएको छ।
‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने थिम लाइनसहित तयार भएको फिल्मले श्रीमान्–श्रीमती र परिवारभित्रका उतारचढावलाई केन्द्रमा राखेको संकेत गरेको छ।
फिल्ममा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय रहेको छ।
प्रेम थापा र गणेश उपाध्यायले फिल्म लेखेका हुन्। निरज कँडेल डीओपी रहेको फिल्ममा विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन रहेको छ।
रमेश शाही निर्माता रहेको ‘परिवार’मा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताका रूपमा छन्। शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण गरिएको हो।

