ग्ल्यामर नेपाल, काठमाडौं ।
विदेशमा आफन्त गुमाएका २ सय ५० भन्दा बढी विद्यार्थीहरुको अध्ययन खर्चको लागि फिल्म ‘राहदानी’को विभिन्न आठ शहरमा च्यारिटी शो भईरहेको छ ।
वैदेशिक रोजगारीका क्रममा दिवंगत भएका तथा अंगभंग भएकाहरुको सन्तानको शिक्षाका लागि एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चसँग मिलेर फिल्मले आर्थिक संकलन गरिरहेको निर्देशक डब्बु क्षत्रीले बताए ।
डब्बुका अनुसार १६ कात्तिकमा चितवनको गणेश सिनेमा हलमा, १८ कात्तिकमा गणपति चित्र मन्दिर कावासोतीमा र बिहिबार दाउन्ने पार्टी प्यालेस वर्दघाटमा च्यारिटी शो भएको छ । च्यारिटीमा शोमा दर्शकको उल्लेख्य उपस्थित रहेको थियो । यसबाहेक २३ कात्तिकमा बुटबलको मिलन चलचित्र मन्दिरमा, २४ कात्तिकमा तानसेनको सन्तोष फिल्म हलमा, २५ कात्तिकमा परासीबजारको सन्तोषीमा सिनेमा हलमा च्यारिटी शो हुँदै छ । यस्तै २७ कात्तिकमा लुम्बिनी पार्टी प्यालेस पिपरा, कपिलबस्तुमा र २९ कात्तिकमा प्युठानी होटल चन्द्रौटा बजार कपिलबस्तुमा च्यारिटी शो हुने यसका निर्देशक क्षत्रीले जानकारी गराए । च्यारिटी शोको व्यबस्था पनि ‘जब ग्लोब’का चन्द्र सिंहले गरिरहेका छन् ।
फिल्ममा दयाहाङ राई, नविन लम्साल, रुपा खनाल, अशोक रिजाल, सृजना सुब्बा, मोनिका दाहाल, फुपु तेन्जिङ शेर्पा, दिनेश दुलाल, विधा कार्की, अस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेतलगायतको अभिनय रहेको छ । फिल्मका निर्माता लक्ष्मीप्रसाद ढकाल हुन् । फिल्मले यसअघि च्यारिटी शोमार्फत एक लाख रुपैयाँ भन्दा बढी रकम संकलन गरी साउनमा सिन्धुपाल्चोकको पहिरो पीडितहरुलाई नेप्लिज फेशन होमसँग मिलेर विभिन्न राहत सामग्री बाँडेको थियो ।
