‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले गरे नयाँ फिल्मको घोषणा

दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले फिल्म निर्माण गर्ने भएका छन्। ‘कबड्डी’ निर्माण कम्पनी ‘बाँसुरी फिल्म्स’ ब्यानरमा बन्ने फिल्मको रिलिज आगामी दशैंमा गर्ने योजना छ।


Ram Babu Gurung | Image courtesy: onlinekhabar

निर्देशक रामबाबु गुरुङले नयाँ फिल्मको औपचारिक घोषणा गरेका छन्। उनले दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोहि नाममा फिल्म निर्माण गर्न लागेका हुन्। गुरुङले निर्देशन गर्ने फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण स्वीकृति लिईसकेको छ। आगामी दशैंमा रिलिज गर्ने योजना रहेको फिल्मको नायिका तय गरिसकेको छैन।

यो फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर ऊ पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन। आदर्शवादी लाग्ने यो चरित्रले पछिल्लो छिमलका शैक्षिक बेरोजगारलाई व्यंग्य गर्छ।

‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा बन्ने फिल्मको छायांकन वैशाखदेखि सुरु गर्ने तयारीमा छ। छायांकनको लागि लोकेसन लगायतका पक्ष तय हुँदैछन्। रामबाबु निर्देशित ‘फूलबारी’ फागुन ५ गते प्रदर्शन तयारीमा छ।

कमेडी ड्रामा जनरामा बन्ने फिल्मको मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायतका कलाकारहरु हुनेछन्।

यसअघि तीनपटक मञ्चन भइसकेको उक्त नाटकले राम्रो कमाइ गर्दै चर्चा पनि बटुलेको थियो। दर्शकको मागको आधारमा मण्डलाले तीनपटक उक्त नाटकलाई मञ्चन गरेको थियो।

SUBSCRIBE 👉