‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ राई र विजय बरालको घम्साघम्सी

तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् ।


तिहारको भाइटिकालाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘वरिष्ठ बलराम’ले आफ्नो प्रचार प्रसारलाई तीव्रता दिँदै दुई पोस्टर सार्वजनिक गरेको छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो चलचित्रले सार्वजनिक पोस्टरमार्फत दर्शकमा चलचित्रबारे थप जानकारी दिएको हो।

पहिलो पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई र विजय बराल सहित अन्य कलाकारहरूको उपस्थिति छ। दोस्रो पोस्टरमा दयाहाङ र विजय मात्र छन् र उनीहरू एक अर्कासँगको द्वन्द्वमा उत्रिएका देखिन्छन्। पोस्टरबाट चलचित्रको कथामा व्यावसायिक प्रतिस्पर्धा र शक्ति सङ्घर्षको आयामलाई दर्साउँछ।

सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रको छायाङ्कन चितवनका विभिन्न स्थानमा गरिएको हो। यसमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्यालसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मसको सहकार्यमा बनेको यो चलचित्रलाई आशिष एच तामाङ र श्रीराज कार्कीले निर्माण गरेका हुन्। निर्देशक सुरेन्द्र पौडेलकै कथा र सम्पादन रहेको यसको पटकथा महेश दवाडीले तयार पारेका हुन्।

मनकृष्ण महर्जनको छायाङ्कन रहेको ‘वरिष्ठ बलराम’ मा प्रशान्त सिवाकोटीको सङ्गीत, सम्राट बस्नेतको एक्सन र प्रदीप लामाको नृत्य निर्देशन छ।

SUBSCRIBE 👉