
कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ। निर्माण पक्षले बडादसैंको घटस्थापनाको दिन पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको छ। टिजरमा किराती मौलिक प्रेमकथामा भावनात्मक सम्बन्धहरु देखाइएको छ। टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न झल्किन्छ। इलामको रमणीय दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ।
धेरै जसो दर्शकलाई तक्मेबुढा (विल्सन विक्रम राई)ले कमेडी शैलीको फिल्म निर्माण गर्लान् भन्ने लागेको हुनुपर्छ। तर उनले कमेडीशैलीको फिल्म भन्दा फरक मौलिक प्रेमकथामा फिल्म निर्माण गरेका छन्।
त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’लाई निर्देशक राईकै कथामा निर्माण भएको हो। फिल्ममा धिरज, मिरुना र दियाका साथमा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।
