रिपोटर्स क्लबको गाइजात्रामा कलाकारको व्यंग्य


Gaijatra-Rishi
ग्ल्यामर नेपाल, काठमाडौं । गाईजात्राको अवसर पारेर रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘विशेष गाईजात्रे महोत्सव’ कार्यक्रममा हाँस्य कलाकारहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि क्लबका अध्यक्ष ऋषि धमलासमेतलाई व्यंग्य गरेका छन् । सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको दुखद निधनप्रति मौन धारण व्यक्त गरेर शुरु गरिएको कार्यक्रममा सबै हाँस्यकलाकारहरुले श्रीकृष्णका परिवारजन प्रति समवेदना दिएका थिए । कलाकारहरुले श्रीकृष्णको नेपाली सिने जगतमा सँधै अभाव खड्किरहने समेत धारणा राखेका थिए ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा कलाकारहरुले विशेष रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको बारेमा हाँस्यव्यङ्ग्यका लागि बढी समय खर्चिएका थिए । कार्यक्रममा कृष्ण मुरारी गौतम (चट्याङ मास्टर)ले व्यङ्ग्यात्मक कविता वाचन गरेर आफ्नो प्रस्तुती शुरु गरेका थिए । चट्याङ मास्टरले नेताहरुलाई जिम्मेवार बनाउनका लागि आफूले यस्तो कविता वाचन गरेको जनाए । वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले यस वर्षको गाईजात्रामा आफूहरुले राजनीतिक व्यङ्य भन्दा पनि संविधान समयमै बनाउन विशेष पहल गरेको बताए । गजुरेलले नेपाल भ्रमणमा आएका वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा दिएको अभिव्यक्तिकोे बारेमा पनि क्यारिकेचर गरेका थिए । गजुरेलले चर्चाको शिखरमा सँधै रहने ऋषि धमला मोदी भ्रमणका समयमा पनि चर्चामा आएको बताए । उनले भने ‘मोदीले संसदमा नै संविधान लेख्न ऋषिको जस्तो मन हुनुपर्ने बताएका थिए । त्यसैले ऋषिजी मोदीको भ्रमणमा पनि चर्चामा रहनुभयो । तर ऋषि धमलाजी दारी नभएको ऋषि हो ।’

त्यस्तै दिपकराज गिरीले रिपोर्टर्स क्लब नेपालले सबै कलाकारहरुलाई एउटै मञ्चमा भेला गराएर कार्यक्रम राखेकोमा धन्यवाद दिँदै ऋषि धमलाको सक्रियाताबाट सबैले पाठ सिक्नुपर्ने बताए । गिरीले नेपाली चलचित्र जगतले एउटा अत्यन्तै मिलनसार कलाकारलाई गुमाएकोमा शोक व्यक्त गर्दै श्रीकृष्णको सम्झना सदैव आफूहरुको ढुकढुकीमा रहिरहने पनि बताए । सिताराम कट्टेल ‘धुर्मुस’ले पनि बढी समय ऋषि धमलाको बारेमा नै क्यारिकेचर गरेर समय खर्चिएका थिए । उनले कहिले केपी ओलीको बारेमा क्यारिकेचर गरे त कहिले धमलाको । कट्टेलले गाईजात्रा राष्ट्रिय पर्वको रुपमा मनाउन रिपोर्टर्स क्लब नेपालले खेलेको भूमिकालाई पनि धन्यवाद दिए । कार्यक्रममा किरण केसीले पनि कविता वाचन गरेका थिए भने शिवहरी पौडेल, मनोज आचार्य, जितु नेपाल, दमन रुपाखेती, कुञ्जाना घिमिरे, श्रीकृष्ण सिंखडा लगायतको उपस्थिति रहेको थियो । उनीहरु सवैले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

SUBSCRIBE 👉