डकुड्रामा ‘मौन’ को टिजर रिलिज, रोकिएका शो पुनः सञ्चालन गर्दै निर्देशक

रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर रिलिज गरिएको छ। १ मिनेट १४ सेकेण्ड लामो टिजर भिडियो आमा छोरीको भावनात्मक कथा केन्द्रित छ।


सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको डकुड्रामा ‘मौन’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। सार्वजनिक १ मिनेट १४ सेकेण्ड लामो टिजरमा एक आमाले आफ्नी छोरीसँग आँखाभरि आँसु लिएर भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथा मुख्य केन्द्रित छ। टिजरले अटिजम सम्बन्धी गम्भीर पक्षलाई संवेदनशील तरिकाले प्रस्तुत गरेको छ। यसअघि फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरिएको थियो।

यो डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारहरुले अभिनय गरेका छन्। टिजरबाटै ‘मौन’ले अटिजम जस्तो संवेदनशील र प्रायः बेवास्ता गरिने विषयमा गहिरो कथा बोकेको स्पष्ट हुन्छ।

निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिक सँगै अब ‘मौन’लाई देश–विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङहरूमा प्रस्तुत गर्ने तयारी भइरहेको छ। ज्ञवालीले ‘मौन’लाई कुनै व्यावसायिक लाभका लागि नभई समाजमा चेतना र सहानुभूति बढाउन निर्माण गरिएको सामाजिक दायित्वको परियोजना भएको बताए।

डकुड्रामाको कथा चर्चित लेखक रामशरण पाठकले लेखेका हुन्। छायांकन शंकल्प भुजेलले गरेका छन् भने प्रमुख सहायक निर्देशक वसन्त अधिकारी हुन्। सहायक निर्माता हरी क्षेत्री भूपेन्द्र हुन्। ध्वनि डिजाइनिङमा भरत कँडेल, कलर ग्रेडिङमा राजेन्द्र मोक्तान, सम्पादन नहकुल खड्काले गरेका हुन् ।

निर्माता तथा निर्देशक रामजी ज्ञवाली एक दशक लामो पत्रकारितापछि डकुड्रामा, डकुमेन्ट्री र सर्ट फिल्म मेकिङमा लागेका हुन्। उनले आराध्या, एक लभर, हनिमुन, लिलामी, डार्कमुन, लापत्ता सन्तान, रित्तो गाउँ, मौन, निशब्द लगायतका प्रोजेक्ट बनाइसकेका छन्। यद्यपी मौन, निशब्द र रित्तो गाउँ भने च्यारिटी शो, विशेष प्रदर्शन केन्द्रित भन्दै सार्वजनिक गरिएका छैनन्।

SUBSCRIBE 👉