
Pooja Sharma and Kabita Nepali’s Fierce Face-Off Grabs Attention in ‘akka 3’
अभिनेत्री पूजा शर्मा र कविता नेपालीबीच कडा टकराव हुने संकेतसहित एक्सन फिल्म ‘एक्का तीन’को पोस्टर सार्वजनिक गरिएको छ। आक्रामक भावमा आमनेसामने देखिएका दुई अभिनेत्रीको लुक्सले उनीहरूको द्वन्द्व फिल्मको प्रमुख आकर्षण बन्ने संकेत गरेको छ।
भदौको तेस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्मको पोस्टरमा पूजा र कवितालाई मात्रै केन्द्रमा राखिएको छ। दुवैको ‘एङ्ग्री लुक’ र फेस-अफ शैलीले कथामा उनीहरूबीच शक्तिशाली संघर्ष देख्न पाइने अपेक्षा बढाएको छ।
फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन्। सुमन गजमेरले कथा तथा पटकथा लेखेका छन् भने रामकृष्ण खरेल र अनुप गडालको लगानी रहने बताइएको छ। फिल्म जुना फिल्म्सको प्रस्तुतिमा निर्माण हुँदैछ।
‘एक्का तीन’लाई सुरुदेखि नै एक्सन फिल्मका रूपमा अगाडि बढाइएको हो। कविता नेपाली फिल्ममा अनुबन्ध हुँदा पनि निर्माण पक्षले पूजा र कविताबीचको टकरावलाई फिल्मको प्रमुख आकर्षणमध्ये एकका रूपमा प्रस्तुत गरेको थियो।
पोस्टरले त्यही पक्षलाई अझ स्पष्ट बनाएको छ। पोस्टरमा पुरुष कलाकारलाई स्थान नदिई दुई अभिनेत्रीको द्वन्द्वलाई मात्र प्राथमिकता दिइएको छ।
पछिल्लो समय नेपाली फिल्ममा महिला पात्रलाई एक्सन कथाको केन्द्रमा राख्ने प्रयास बढ्दो छ। ‘एक्का तीन’ले पनि प्रचारको मुख्य केन्द्रमा पूजा र कवितालाई राखेर दुई शक्तिशाली महिला पात्रबीचको द्वन्द्वलाई अगाडि सारेको देखिन्छ।
पूजा यसअघि पनि एक्सन भूमिकामा देखिइसकेकी अभिनेत्री हुन्। मोडलिङ र रियालिटी शोबाट परिचित कविता नेपालीका लागि भने ‘एक्का तीन’ ठूलो पर्दामा आफ्नो एक्सन छवि स्थापित गर्ने महत्वपूर्ण परियोजना बन्न सक्छ।
पोस्टरले फिल्मको कथा खुलाएको छैन, तर पूजा र कविताबीचको टकराव कथाको महत्वपूर्ण हिस्सा हुने संकेत भने स्पष्ट दिएको छ। अब उनीहरू किन आमनेसामने हुन्छन्, द्वन्द्वको वास्तविक कारण के हो र फिल्मको तेस्रो प्रमुख पात्र को हुन्छ भन्ने जिज्ञासा निर्माण पक्षले आगामी प्रचार सामग्रीमार्फत खुलाउँदै लैजाने अपेक्षा गरिएको छ।

