‘Elephants in the Fog’ले बक्सअफिसमा देखायो सम्भावना, निर्देशक भन्छन-‘फेस्टिभल सिनेमा चल्दैन भन्ने धारणा गलत’

कान्समा जुरी च्वाइस अवार्ड जितिसकेको ‘तिनीहरू : Elephants in the Fog’ले घरेलु प्रदर्शनको सुरुवाती दिनमै सकारात्मक वर्ड अफ माउथ र राम्रो दर्शक उपस्थिति पाएको छ।

Cannes-Winning ‘Elephants in the Fog’ Opens Strong in Nepal Despite Rain and Flood Disruptions

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘तिनीहरू : Elephants in the Fog’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ। शनिबार दिनभरको वर्षा र रसुवा–भोटेकोसी बाढीको प्रभावबीच पनि काठमाडौंका सिनेमा हलमा दर्शकको राम्रो उपस्थिति देखिएको निर्माण पक्षले जनाएको छ।

शनिबार काठमाडौंका अधिकांश शोमा उच्च अकुपेन्सी देखिएको थियो भने एक दर्जनभन्दा बढी शो हाउसफूल भएका थिए। शुक्रबारबाटै चलचित्रले सकारात्मक प्रतिक्रिया पाउन थालेपछि त्यसको प्रभाव दोस्रो दिनको दर्शक उपस्थितिमा पनि देखिएको छ।

चलचित्रकर्मी, समीक्षक तथा फिल्म मेकरहरूले सामाजिक सञ्जालमा चलचित्रको प्रशंसा गरिरहेका छन्। निर्माण पक्षका अनुसार सकारात्मक ‘वर्ड अफ माउथ’ले हलमा दर्शकको चाप बढाउन सहयोग गरेको छ।

“वर्षा र बाढीको त्रास र प्रभावका बीच पनि शनिबार हलमा दर्शकको अकुपेन्सी धेरै देखियो। यो हाम्रा लागि सुखद पक्ष हो,” निर्देशक अविनाश विक्रम शाहले भने, “यो प्रतिकूल समयमा पनि दर्शकको साथले हामी उत्साहित छौँ।”

आगामी दिनमा सकारात्मक प्रतिक्रियासँगै दर्शक संख्या अझ बढ्ने निर्देशक शाहको अपेक्षा छ।

“अधिकांश दर्शकले सिनेमालाई राम्रो भन्नु भएको छ,” उनले भने, “यसको प्रभाव आगामी दिनमा पक्कै पनि देखिनेछ भन्ने हाम्रो विश्वास छ।”

अन्तर्राष्ट्रिय फेस्टिभलबाट घरेलु हलसम्म

अविनाश विक्रम शाह निर्देशित ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ यसअघि कान्सलगायत विश्वका विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइसकेको छ र अवार्डसमेत जितिसकेको छ। कान्समा जुरी च्वाइस अवार्ड पाएपछि चलचित्र घरेलु दर्शकमाझ पनि प्रतीक्षित बनेको थियो।

प्रिमियरदेखि नै चलचित्रले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। हलमा पुगेका दर्शकहरूले विशेषगरी चलचित्रको प्रस्तुति, कथा भन्ने शैली र विषयवस्तुको प्रशंसा गरेका छन्।

चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ।

‘फेस्टिभल सिनेमा चल्दैन भन्ने भाष्य गलत’

निर्देशक शाहले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेका नेपाली चलचित्र घरेलु बक्सअफिसमा चल्दैनन् भन्ने धारणा गलत भएको बताएका छन्।

“नेपालमा इन्टरनेशनल फिल्म फेस्टिभलमा गएका चलचित्र चल्दैनन् भन्ने गलत भाष्य जबरजस्ती सेट गरिएको छ। तर, त्यो वास्तवमा गलत हो,” निर्देशक शाह भन्छन्, “गत वर्षमा फर्किएमात्रै पुग्छ, धेरै अगाडि जानै पर्दैन।”

उनले उदाहरणका रूपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र मीन भाम निर्देशित ‘शाम्बाला’लाई उल्लेख गरेका छन्।

उनका अनुसार ‘गाउँ आएको बाटो’ले घरेलु बक्सअफिसमा ४ करोड १९ लाख ९० हजार ३५९ रुपैयाँ कलेक्सन गरेको थियो भने ‘शाम्बाला’ले २ करोड १२ लाख २२ हजार ३५१ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।

यी तथ्यांकले फेस्टिभलमा पुगेका चलचित्र नेपाली दर्शकले रुचाउँदैनन् भन्ने धारणालाई गलत सावित गर्ने उनको तर्क छ। उनले घरेलु बक्सअफिसमा सफल भएको ‘कालो पोथी’लाई पनि स्मरण गरेका छन्।

“यी सिनेमा पक्कै पनि नेपाली सिनेमाका ब्लकबस्टर सिनेमा होइनन्। तर, घरेलु दर्शकले रुचाएका पक्कै हुन्,” निर्देशक शाह भन्छन्, “आर्ट बेसका मुभी हतार नगरी कथा भन्ने भएकाले यसमा कथा भन्ने शैली पक्कै फरक हुन्छ। तर, यसलाई रुचाइएको छैन भन्ने होइन। रेकर्ड होल्डर सिनेमा बन्न नसके पनि दर्शकले मन पराइरहेका छन् भन्न सकिन्छ।”

अधिकांश चलचित्र लाख वा केही हजार रुपैयाँकै कारोबारमा सीमित भइरहेका बेला फेस्टिभलमा पुगेका चलचित्रले करोडौँको व्यापार गर्नुलाई सकारात्मक रूपमा लिनुपर्ने शाहको भनाइ छ।

SUBSCRIBE 👉