
जेन–जी आन्दोलन र त्यसपछिको परिवर्तित अवस्थालाई कथाको केन्द्रमा राखिएको नेपाली चलचित्र ‘चंगुल’को टिजर सार्वजनिक गरिएको छ। नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित जेन–जी सहिद स्मृति सभाका क्रममा चलचित्रको टिजर सार्वजनिक गरिएको हो।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललगायतको उपस्थिति थियो।
जेन–जी आन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित कार्यक्रमबाट टिजर सार्वजनिक गरिनुलाई चलचित्रको विषयवस्तुसँग पनि जोडिएको छ। ‘चंगुल’ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसँगै त्यसअघि र त्यसपछि विकसित सामाजिक तथा राजनीतिक परिस्थितिलाई पर्दामा उतारेको निर्माण पक्षले जनाएको छ।
चलचित्रले भ्रष्टाचार, त्यसबाट सिर्जित असन्तोष र युवा पुस्तामा देखिएको जागरणलाई कथाको महत्वपूर्ण आधार बनाएको छ।
मालती कार्कीले निर्माण गरेको चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन्। चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल र रोहित ढुंगानालगायत कलाकारको अभिनय छ। बालकलाकार रिम्शा कार्की पनि चलचित्रमा देखिनेछिन्।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ। देव महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ।
यसअघि भदौ १९ गते प्रदर्शनमा ल्याउने घोषणा गरिएको ‘चंगुल’को रिलिज मिति पछि सारिएको थियो। अब चलचित्र असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
जेन–जी आन्दोलनको स्मृति अझै ताजा रहेको समयमा सोही घटनाक्रम र त्यसबाट जन्मिएको युवा चेतनालाई सिनेमाको कथा बनाएको ‘चंगुल’को टिजरले चलचित्रले आन्दोलनलाई पर्दामा कसरी प्रस्तुत गर्छ भन्ने चासो बढाएको छ।

