‘मितज्यू’ ट्रेलरमा दया–सौगातको गज्जब केमेस्ट्री, तेरिया मगरको दमदार डेब्यु

दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर अभिनीत नेपाली फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ। गाउँको मितेरी साइनो, मित्रता, प्रतिस्पर्धा र संघर्षलाई फिल्मले रोचक ढंगले प्रस्तुत गरेको छ।


Saugat Malla, Teriya Magar and Dayahang Rai | Nepali Movie Mitajyu

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो।

सार्वजनिक ट्रेलरमा दयाहाङ राई र सौगात मल्लले गाउँको ‘मितेरी साइनो’ लगाएका पात्रको भूमिका निभाएका छन्। उनीहरू गाउँमा आएको नयाँ सडकमा गाडी चलाउने चालक हुन्। कसले यात्रुलाई छिटो गन्तव्यमा पुर्‍याउने भन्ने प्रतिस्पर्धाले उनीहरूबीच रोचक द्वन्द्व सिर्जना गरेको देखिन्छ।

ट्रेलरमा दया र सौगातबीचको मित्रता, प्रतिस्पर्धा, झगडा र भावनात्मक सम्बन्धलाई गाउँले परिवेशमा प्रस्तुत गरिएको छ। सौगात मित दयाको घरमा भाले बोकेर पुगेको दृश्य र तेरिया मगरको गाउँले शैलीको संवादले ट्रेलरलाई थप आकर्षक बनाएको छ।

फिल्मले नेपालमा कुनै समय निकै प्रचलित रहेको ‘मितेरी साइनो’को संस्कारलाई कथाको मुख्य आधार बनाएको छ। ट्रेलरमा ज्योतिषीले मितेरी सम्बन्धलाई हल्का रूपमा नलिन चेतावनी दिएको दृश्यले कथामा रहस्य र गहिराइ थपेको छ।


नेपाली फिल्म ‘मितज्यू’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्


जनक घर्ती मगर निर्मित फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्। ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरसँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहेको छ।

यसै फिल्ममार्फत चर्चित डान्सर तेरिया मगरले अभिनेत्रीको रूपमा डेब्यु गरेकी हुन्। फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ।

फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। गीतमा मेलिना राई, श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको स्वर सुन्न सकिनेछ।

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म विदेशमा समेत चर्चामा छ। निर्माण टिमका अनुसार ‘मितज्यू’ हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भइसकेको छ। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ भने आरआर फिल्म्सले वितरण गर्नेछ।


यो पनि पढ्नुहोस्: सुशील सिटौला र न्यान्सी खड्काको अभिनय रहने ‘अक्षरा’को औपचारिक छायांकन सुरु


SUBSCRIBE 👉