नमुना कलेजको २१औँ ग्राजुएसन फेसन शोका लागि मोडल अडिसन

नमुना कलेज अफ फेसन टेक्नोलोजीले २१औँ ग्राजुएसन फेसन शो अनन्तरूपवितानम्का लागि आयोजना गरेको मोडल अडिसन सम्पन्न गरेको छ। अडिसनमा करिब २०० जनाले सहभागिता जनाएका थिए।

नमुना कलेज अफ फेसन टेक्नोलोजीले आफ्नो २१औँ ग्राजुएसन फेसन शो ‘अनन्तरूपवितानम् – द इन्फिनिट टेपेस्ट्री अफ एक्सप्रेसन्स’ का लागि आयोजना गरेको आधिकारिक मोडल अडिसन सम्पन्न गरेको छ।

अडिसनमा देशका विभिन्न स्थानबाट आएका करिब २०० आकांक्षी मोडलले प्रतिष्ठित फेसन रनवेमा स्थान बनाउन प्रतिस्पर्धा गरेका थिए।

ग्राजुएसन फेसन शो आगामी १० अक्टोबर २०२६ मा ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुँदैछ। नेपालको शैक्षिक फेसन क्षेत्रमा परिचित यस शोमा उदाउँदा डिजाइनर, मोडल तथा फेसन क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ।

अडिसनका क्रममा सहभागीहरूको रनवे वाक, आत्मविश्वास, शारीरिक मुद्रा, हाउभाउ, स्टेज उपस्थिति, व्यक्तित्व र समग्र प्रस्तुतिको मूल्यांकन गरिएको थियो।

निर्णायक मण्डलमा फेसन कोरियोग्राफर तथा एनसीएफटीका प्राध्यापक रोजिन शाक्य, फेसन स्टाइलिस्ट असिम रानाभाट, फेसन कोरियोग्राफर अजय गुरुङ, फेसन डिजाइनर निशा श्रेष्ठ तथा ग्राजुएट डिजाइनरका प्रतिनिधि सामन थापा र रुसाना ल्वागुन सहभागी थिए।

अडिसनबाट छनोट भएका मोडलहरूले अब व्यावसायिक ग्रुमिङ, कोरियोग्राफी सेसन, पोसाक फिटिङ र नियमित रिहर्सलमा भाग लिनेछन्।

यस वर्षको ग्राजुएसन फेसन शो “कस्मिक थ्रेड्स अफ हेरिटेज: नेपाल बियोन्ड टाइम एन्ड युनिभर्स” विषयमा आधारित छ। संस्कृत नाम अनन्तरूपवितानम् ले एउटै ब्रह्माण्डभित्र रहेका सौन्दर्य, पहिचान, संस्कृति र सिर्जनशीलताका अनन्त अभिव्यक्तिलाई जनाउँछ।

फेसन शोमा एनसीएफटीको २१औँ ब्याचका ५४ जना ग्राजुएट डिजाइनरले तयार पारेका छवटा विशेष कलेक्सन, ५४ मौलिक डिजाइन र छवटा सिर्जनात्मक मास्टरपिस प्रस्तुत गरिनेछ।

यस वर्षको कार्यक्रमको आयोजना तथा व्यवस्थापनमा पनि ग्राजुएट डिजाइनरहरूको सक्रिय भूमिका रहेको छ। यसबाट विद्यार्थीहरूले फेसन डिजाइनसँगै शो निर्माण, व्यवस्थापन र प्रस्तुतीकरणको व्यावहारिक अनुभव प्राप्त गर्नेछन्।

नमुना कलेज अफ फेसन टेक्नोलोजीलाई नेपालको फेसन शिक्षाका अग्रणी संस्थामध्ये एक मानिन्छ। दुई दशकभन्दा लामो समयदेखि कलेजले फेसन उद्यमी, डिजाइनर, शिक्षक, स्टाइलिस्ट तथा सिर्जनात्मक पेशाकर्मीका रूपमा करिअर निर्माण गरेका जनशक्ति उत्पादन गर्दै आएको छ।

कलेजको वार्षिक ग्राजुएसन फेसन शोले शैक्षिक ज्ञानलाई फेसन उद्योगको व्यावहारिक अनुभवसँग जोड्ने महत्त्वपूर्ण मञ्चको रूप लिएको छ। यसले नयाँ डिजाइनर र आकांक्षी मोडललाई अवसर तथा पहिचान प्रदान गर्नुका साथै नेपालको फेसन उद्योगको विकासमा पनि योगदान पुर्‍याउँदै आएको छ।