
पारिवारिक सम्बन्ध, घरभित्रको द्वन्द्व र आमाको खोजीलाई केन्द्रमा राखिएको नेपाली सिनेमा ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा निर्माण टोलीले सिनेमाको १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।
टिजरमा देउरानी–जेठानीबीचको मनमुटाव, पारिवारिक सम्बन्धमा आउने उतारचढाव र त्यसले परिवारमा निम्त्याउने परिस्थितिलाई प्रस्तुत गरिएको छ। टिजरको सुरुमै हिउँवाला गौतम मध्यरातमा घर छाडेर हिँडेको दृश्य देखिन्छ। त्यसपछि परिवारका सदस्यहरू आमाको खोजीमा निस्किएको कथालाई अगाडि बढाइएको छ।
पहिलो फिल्मकै पारिवारिक स्वाद र भावनात्मक पृष्ठभूमिलाई निरन्तरता दिएको टिजरमा केही नयाँ मोडसमेत समेटिएका छन्। विशेषगरी अभिनेता आर्यन सिग्देलको रहस्यमय अवतारले दर्शकको उत्सुकता बढाएको छ। टिजरमा उनी शरीरमा साङ्लो बेरिएको अवस्थामा देखिएका छन्। उनको पात्र र अवस्थाबारे विस्तृत जानकारी नखुलाइएकाले कथामा उनले ल्याउने मोड चासोको विषय बनेको छ।
लोकप्रिय सिनेमा ‘झिँगेदाउ’ को सिक्वेलका रूपमा निर्माण भएको फिल्ममा आँचल शर्मा र केकी अधिकारी देउरानी–जेठानीको भूमिकामा छन्। महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिएका छन्।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिँगेदाउ २’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ।
टिजर सार्वजनिक कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरूले फिल्मको पारिवारिक कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका थिए। पहिलो फिल्म ‘झिँगेदाउ’ ले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरेकाले यसको सिक्वेलप्रति पनि दर्शकको अपेक्षा उच्च देखिएको छ।
‘झिँगेदाउ २’ को टिजर यहाँ हेर्नुहोस् 
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विष्णु घिमिरे ‘कल्पित’ को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन निर्देशन छ। फिल्मको प्रोडक्सन म्यानेजमेन्ट ईश्वर घिमिरेले सम्हालेका छन्।
‘झिँगेदाउ २’ लाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ।

