
Abhay Raj Baral portrays Ganesh Man Singh in Ashesh Malla’s play Bir Ganeshman, returning to Sarwanam Theatre.
बाढीले रोकिएको ‘वीर गणेशमान’ मंसिर ४ देखि फेरि मञ्चमा, ट्रेलर सार्वजनिक
भोटेकोसीमा आएको बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि सर्वनाम थिएटरमा फर्किने भएको छ। कालिकास्थानस्थित थिएटरमा मंसिर ४ देखि १९ गतेसम्म मञ्चन हुने नाटकको औपचारिक ट्रेलर पनि युट्युबमा सार्वजनिक गरिएको छ।
गणेशमान सिंहको जीवन र राजनीतिक संघर्षमा आधारित नाटकमा अभिनेता अभयराज बराल शीर्ष भूमिकामा छन्। राणाशासनविरुद्ध नागरिक अधिकारका लागि गरेको संघर्षदेखि २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्रीको पद अस्वीकार गरेको घटनासम्मलाई नाटकले समेट्छ।
जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना पनि नाटकको महत्त्वपूर्ण हिस्सा हो। व्यक्तिगत जोखिम मोलेर अघि बढेका उनका जीवनका यस्ता क्षणलाई निर्देशक अशेष मल्लले मञ्चमा उतारेका छन्।
गणेशमान सिंह फाउण्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्यरूपान्तरण र निर्देशन मल्लले गरेका हुन्। स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतीले गरेकी छन्।
करिब दुई घण्टा लामो नाटक मल्लको प्रस्तुति शैलीका हिसाबले पनि फरक छ। निर्माण पक्षका अनुसार उनले आफ्नो ५० वर्षको नाट्ययात्रामा पहिलोपटक बिम्ब र प्रतीकको शैली छाडेर यस नाटकमा यथार्थपरक प्रस्तुति अपनाएका छन्।
पुनः मञ्चनअघि सार्वजनिक गरिएको ट्रेलरबाट निर्माण पक्षले नाटकलाई दर्शकसम्म पुर्याउने प्रयास गरेको छ। नेपाली रङ्गमञ्चमा चलचित्रको जस्तै औपचारिक ट्रेलर तयार गरेर सार्वजनिक गर्ने अभ्यास कमै देखिन्छ।
नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो पनि राखिएको छ।
यसअघिको मञ्चनमा गणेशमानको भूमिकामा अभयराजको अभिनय र रूपसज्जाले प्रशंसा पाएको निर्माण पक्षले जनाएको छ। नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य र प्रदीप भट्टको पनि अभिनय छ।
यस्तै, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राई पनि नाटकमा छन्।
भदौमा सर्वनाम थिएटरमा आयोजित प्रिमियरमा गणेशमानका छोरा प्रकाशमान सिंह सहभागी भएका थिए। उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्ष र त्यसमा गणेशमानको योगदान बुझ्न युवा पुस्ताले यो नाटक हेर्नुपर्ने बताएका थिए।











