‘फूलै फूलको मौसम तिमीलाई’को प्रमोशनमा देशभरका रेडियोले सघाउने


neeta-dhungana-amesh-bhandari
आगामी फागुन २१ गते देखि रिलिज हुन लागेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को प्रचार प्रसारमा देशभरका रेडियोले सघाउने भएका छन्। फिल्मले मनोरञ्जन संगै धादिङमा झोर्लुङ्गे पुल निर्माण गरिदिने घोषणा गरेपछि रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन नेपालले फिल्म सँग सहकार्य गर्न चासो देखाएको हो।

राजधानीमा सोमबार आयोजित एक बिशेष कार्यक्रममा ब्रोडकाष्टिङ एसोसिएसन नेपालका अध्यक्ष गोपाल झा र फिल्मका निर्देशक दिनेश डिसीले सहकार्यका लागि हात मिलाएका छन्। निर्देशक डिसीले पनि अहिलेको समयमा लोडसेडिङका कारण टेलिभिजन भन्दा पनि रेडियो प्रभावकारी हुने भएकाले रेडियो सँग आफुहरु सहकार्य गर्न तयार भएको बताए। डिसीका अनुसार देशका १९ एफएम रेडियोहरुले फिल्मको प्रमोशनमा सघाउने छन।

कार्यक्रममा फिल्मको शीर्ष गीतका गीतकार रत्नशमशेर थापालाई फिल्म युनिटका तर्फबाट ट्रफी र सम्मानपत्रबाट सम्मान गरियो। फिल्मका निर्देशक डिसीले फिल्ममा नायिकाको दोहोरो भूमिका, पूर्ण प्रेमकथा र सुपर नेचुरल पावरको प्रस्तुति रहने बताए। फिल्मकी नायिका निता ढुंगाना र नायक आमेश भण्डारीले फिल्म हेरिदिन दर्शकलाई आग्रह गरे।