हरिवंश आचार्यको संवाद रेकर्डिङसँगै ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

दुई पुस्ताबीचको सोच र सम्बन्धको कथा समेटिएको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु भएको छ। हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा रहेको चलचित्र माघ १ गते प्रदर्शन गर्ने तयारी छ।

अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै चलचित्र ‘चिरञ्जीवी भवः’को डबिङ सुरु गरेका छन्। दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित चलचित्रको छायांकन सकिएपछि निर्माण टोली अहिले पोस्ट प्रोडक्सनमा जुटेको छ।

निर्माण पक्षका अनुसार बिहीबारदेखि डबिङको काम थालिएको हो। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र आगामी २०८३ माघ १ गते प्रदर्शनमा ल्याउने तयारी छ।

‘परान’पछि दीपकप्रसादले निर्देशन गरेको ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको सोच र सम्बन्धको कथा प्रस्तुत गर्छ। सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा पुस्ताबीचको वैचारिक भिन्नता र पारिवारिक सम्बन्धलाई मुख्य स्थान दिइएको छ।

निर्देशक आचार्यले छायांकनका क्रममा गुणस्तरमा सम्झौता नगरिएको बताउँदै पोस्ट प्रोडक्सनमा पनि उत्तिकै मेहनत गर्ने बताएका छन्। उनका अनुसार अहिले चलचित्रको डबिङसँगै अन्य प्राविधिक काम अघि बढाइएको छ।

चलचित्रमा हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। मोडल तथा इन्फ्लुएन्सर प्रशंसाले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दै छिन्। आशीर्वाद र प्रशंसाको भूमिकाबारे भने निर्माण टोलीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

कुमार कट्टेल ‘जिग्री’को कथामा बनेको चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन्। उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्।

चलचित्रमा कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी र अभयराज बरालको पनि अभिनय छ। यस्तै, सुस्मिता कुँवर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण र सुरेश थापालगायत कलाकार पनि पर्दामा देखिनेछन्।

बाल कलाकारमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य र विभूति गौतम छन्।

धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा खिचिएको चलचित्रका छायांकार शिवराम श्रेष्ठ हुन्। गोपाल रायमाझी सिनेम्याटोग्राफर तथा ग्याफरका रूपमा जोडिएका छन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन्।

चलचित्रको संगीत बाबुल गिरी, सुशान्त गौतम, रिकेश गुरुङ र समीर खरेलले तयार पारेका छन्। नृत्य निर्देशन गम्भीर विष्ट र किरण थापाको छ भने ब्याकग्राउन्ड स्कोर रोहित शाक्य र शैलेश श्रेष्ठले तयार पारेका हुन्।

रामबाबु खड्का प्रमुख सहायक निर्देशक रहेको चलचित्रमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशक छन्। प्रोजेक्ट म्यानेजर सुवास राज काफ्ले र प्रोडक्सन डिजाइनर विशाल न्यौपाने हुन्।

चलचित्रको भिजुअल इफेक्ट्समा समीर मियाँ र सत्यम राणा तथा कलर ग्रेडिङमा रेनिश फागोले काम गरेका छन्। पब्लिसिटी डिजाइन टाउवा स्टुडियोका विजय बस्यालको छ।

ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर हो। माघ १ को प्रदर्शन मिति तय गरिएको ‘चिरञ्जीवी भवः’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशभर वितरण गर्नेछ।

SUBSCRIBE 👉