बलिउड नायिकालाई घुमाउने नायक प्रदिप खड्काको रहर


प्रदीप खड्का यतिबेला नेपालको महँगो कलाकारका रूपमा अगाडि आएका छन्। ‘प्रेमगीत’ र त्यसको सिक्वेल हिट भएपछि उनी चर्चाको केन्द्रविन्दुमा रहे। चलचित्र ‘स्केप’बाट अभिनयमा डेब्यु गरेका प्रदीप अहिले धेरै युवतीहरूको ढुकढुकीसमेत बन्न सफल भएका छन्। यतिबेला प्रदिप लन्डनमा चलचित्र ‘लिलिबिली’को सुटिङमा व्यस्त छन्। बेलायतका विभिन्न सहरहरूमा चलचित्रको छायाङ्कन भइरहेको छ।

केही पहिले आयोजित चलचित्र घोषणा कार्यक्रममाको प्रेसमिटमा बडिगार्ड सहित देखिएको विषयलाई लिएर प्रदीप विवादमा समेत तानिएका थिए। त्यो विवादलाई सहज रूपमा स्वीकार र अवतरण समेत गर्न उनी सफल देखिए। अहिले जल्दाबल्दा अभिनेता प्रदीप सँग रङ्ग पत्रकार कुबेर गीरी गरेको कुराकानीको सम्पादित अंश:

कस्तो हेयर स्टाइल मनपर्छ ?
हेयर स्टाइलतिर मैले कहिल्यै ध्यान दिने गरेको छैन। चलचित्र सुटिङमा कथा अनुसारको स्टाइल दिइन्छ। अन्य समय सामान्य नै भएर हिँड्न रुचाउँछु।

ड्रेसअपमा रुचि त पक्कै होला ?
ड्रेसअप यस्तै चाहिन्छ भन्ने छैन। सुटिङ समयमा दिनमै ३, ४ थरीको फेसन गर्नुपर्ने हुन्छ। त्यसैले अरू बेला यस्तो लाउनुपर्छ भन्ने लाग्दैन। आफूलाई कम्फर्टेवल जे हुन्छ, त्यो लगाउँछु । समय, मौसम र स्थानले पनि ड्रेसको निर्धारण गर्दछ।

आफूलाई कसरी फिट राख्ने गर्नुभएको छ ?
म अलि दुब्लो छु। माछा मासु खाँदिन, ड्रिङ्स गर्दिनँ। त्यसैले मलाई केही शारीरिक प्रोब्लम छैन। आफ्नो उमेर अनुसार फिट देखाउन जिम जाने गरेको छु।

कस्तो केटी मन पर्छ ?
बोल्दा नडराउने, कन्फिडेन्ट्ली बोल्ने खालको केटी मनपर्छ। म भने जोसँग बोल्दा पनि आँखामा हेरेर बोल्न मनपर्छ। सिधै भन्नु पर्दा केटीहरूको आँखा मलाई मनपर्छ।

मन पर्ने सङ्गीत ?
स्लो सङ्गीत भएका नेपाली, हिन्दी र अङ्ग्रेजी गीत प्रायः सबै राम्रो लाग्छ।

पहिलो प्रेमपत्र कसलाई र कहिले लेख्नुभयो ?
प्रेमपत्र चाहिँ लेखेको छैन। तर ९, १० कक्षामा पढ्दा एउटी केटीलाई प्रेमको प्रपोज गरेको थिएँ।

भविष्यका योजना केही छन् कि ?
आज मिहिनेत गर्नुपर्छ। भोलि निश्चिय नै राम्रो हुन्छ भन्ने मेरो सोच रहने गरेको छ। सबै नेपालीले हाम्रो हो भनेर गर्व गर्नलायक चलचित्र अभिनय गर्ने, बनाउने सोच छ।

बढी रुचि केमा छ ?
चलचित्र हेर्न मन लाग्छ। म दिनमा ४, ५ वटासम्म रेगुलर हेर्न सक्छु। अर्काे रुचि विभिन्न नयाँ नयाँ ठाउँ घुम्ने छ।

सपना केही छन् कि ?
नाम कमाउने ठूलो सपना थियो। त्यो चलचित्र अभिनयले पुर्याइदियो। अबको दिनमा आफूले अभिनय गरेको चलचित्रले यस अगाडिका भन्दा पनि धेरै रेकर्ड राखोस् र दर्शकको मनमा बस्न सकोस् भन्ने छ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
मलाई धेरै मनपर्ने अभिनेत्री भनेको बलिउडकी प्रियङ्का चोपडा हुन्। उनले बर्फीलगायत चलचित्रमा गरेको अभिनय निकै राम्रो छन्। उनीसँग कुनै दिन भेटेर डेट जान पाएँ भने आफूलाई भाग्यमानी ठान्छु।
– रातपाटी डट कम

SUBSCRIBE 👉