‘इन्डियनजस्तो नदेखिएर फिल्म गुमाएँ’ – गीताञ्जली थापा


नेपालीभाषी चेली गीताञ्जली थापा भारतको राष्ट्रिय फिल्म अवार्डमा यसपटक सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएकी छन्। सिक्किम स्थायी बसोवास भएकी थापालाई लायर्स डाइस नामक फिल्मका लागि राष्ट्रिय अवार्ड दिइएको हो। लसएन्जलस र म्याड्रिड फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थापासँग गरिएको कुराकानी: gitanjali-thapaफिल्ममा कसरी प्रवेश गर्नुभयो ?
सिक्किममा स्कुल पढ्दादेखि नै अभिनय गर्थें तर कलाकार बन्ने रहर थिएन। कलेज पढ्न कोलकाता पुगेपछि साथीहरूको लहलहैमा मोडलिङ सुरु गरेँ। संयोगवश प्रशान्त रसाइलीको मिथ फिल्ममा अभिनय गर्ने मौका जुर्‍यो। त्यसपछि फिल्ममै रमाइरहेकी छु।

राष्ट्रिय अवार्ड दिलाउने फिल्म लायर्स डाइससँग कसरी जोडिनुभयो ?
यसभन्दा पहिले आईडी भन्ने फिल्म खेलेकी थिएँ। सोही फिल्मका सिनेमाटोग्राफर राजीव रभीकी श्रीमती गिथु मोहनदासले निर्देशन गर्नुभएको हो, लायर्स डाइस। आईडीमा मेरो काम रभी सरलाई मन परेछ। उहाँकै सहयोग र सिफारसिमा लायर्स डाइसमा अवसर पाएँ।

अवार्ड पाएपछि कस्तो महसुस गर्नुभएको छ ?
राम्रो काम गर्नुपर्ने चुनौती थपिएको छ। राष्ट्रपतिबाट अवार्ड पाउने दिन ३ मेको प्रतीक्षामा छु।

अवार्ड पाएपछि के गर्ने सोच्दै हुनुहुन्छ ?
अलिअलि आएको छ। तर, अफर आएजति सबै फिल्म खेल्दिनँ। राम्रो स्त्रिmप्ट भएका फिल्म मात्र खेल्ने सोच छ।

तपाईंका रोजाइमा कस्ता फिल्म पर्छन् ?
नाचगानभन्दा पनि आर्थिक-सामाजिक विषयवस्तु उठान गरेका फिल्म। अहिलेसम्म यस्तै फिल्म खेलिरहेकी छु।

भनेपछि बलिउडको मूलधारका फिल्ममा तपाईंको रुचि छैन ?
त्यस्तो पनि होइन। नाचगान र प्रस्तुतिमा नयाँपन छ भने मूलधारकै भए पनि खेल्न कुनै आपत्ति छैन। मुख्य कुरा स्क्रिप्ट हो।

हाल कुन फिल्ममा व्यस्त हुनुहुन्छ ?
ह्वाइट लाइज। अस्कार अवार्ड विजेता निर्देशक डानिस तानोभिचको निर्देशन रहेको यो फिल्ममा इमरान हासमीको अपोजिटमा काम गररिहेकी छु।

डानिसजस्ता विश्वप्रसिद्ध निर्देशकले कसरी पत्याए ?
कम्तीमा एकपटक डानिससँग भेट्न पाइन्छ भनेर अडिसन दिन गएकी थिएँ। भाग्यवश छानिएँ।

सिरियल किसर इमरानसँग काम गर्दा कस्तो अनुभव भयो ?
इमरान निकै मिहिनेती र सहयोगी रहेछन्। उनीजस्ता ठूला स्टारबाट त्यस्तो हौसला पाउँछु भनेर सोचेकै थिइनँ।

नेपालीभाषी भएका नाताले बलिउडमा कुनै समस्या झेल्नुभएको छ ?
नेपालीभाषी भएर होइन, भारतीय युवतीजस्तो नदेखिएर चाहिँ केही फिल्म गुमाउनुपरेको छ। तर, यो फिल्ममेकरको बाध्यता हो। आमदर्शकले भारतीय मुहारकै कलाकार बढी रुचाइरहेका हुन्छन्। जति फिल्म पाइरहेकी छु, त्यही काफी छ।

नेपाली फिल्म हेर्नुभएको छ ?
बच्चा हुँदा सिक्किममै हेरेको दर्पण छायाँ खुब मन परेको थियो। त्यसपछि लामो समय हेरिएन। केहीअघि आचार्य, कथा र सुनगाभा हेरेँ।

नेपाली फिल्ममेकरसँग कत्तिको चिनजान छ ?
प्रशान्त रसाइली र सुनगाभाका निर्देशक सुवर्ण थापासँग मात्र चिनजान छ। प्रशान्त दाइ त मेरो डेब्यु डाइरेक्टर भइहाल्नुभयो। सुवर्ण दाइलाई एउटा फेस्टिवलमा भेटेकी थिएँ।

तपाईंलाई नेपाली फिल्ममा पनि देख्न पाइने सम्भावना कत्तिको छ ?
नेपाली फिल्ममेकरलाई म र मलाई उहाँहरूको स्क्रिप्ट मन पर्‍यो भने पक्का पनि देख्नुहुन्छ। म निकै उत्साही छु।

नेपाल आउने योजना छ कि ?
काठमाडौँमा भएका साथीहरूले घुम्न बोलाइरहेका छन्। अहिलेसम्म मौका जुरेको छैन। ह्वाइट लाइजको सुटिङ सकेपछि आउँछु होला।
– नेपाल साप्ताहिक

SUBSCRIBE 👉