‘एक्टिङ सरुवा रोग हो’- सुरजसिंह ठकुरी


suraj-singh-thakuriहुन त सुरजसिंह ठकुरी हिरो बन्नु अगाडि पनि निकै चर्चामा थिए तर ‘कर्कश’मा हिरो भएपछि उनको लोकप्रियता थप चुलिएको छ। ‘कर्कश’मा उनको अभिनय देखेपछि उनलाई नेपाली सिनेमाको नयाँ स्टारको रुपमा हेरिदैछ। राम्रा ब्यानरका फिल्म भटाभट पाउनुले पनि सुरजको करिअर निकै उकालो लागिरहेको पुष्टि हुन्छ। उनी अहिलेसम्म ‘फेरी नाईँ नभन्नु ल’ र ‘रक्तचन्दन’मा फाइनल भइसकेका छन् भने ऐतिहासिक पात्र जंगबहादुरको जीवनकथा बन्न लागेको चलचित्र ‘जंगे’मा पनि उनी शिर्ष भूमिकामा देखिने लगभग पक्का छ। यसरी व्यस्त हिरोको सुचीमा पर्न थालेका सुरजसँग ग्ल्यामर नेपालले गरेको कुराकानीको सम्पादित अंशः

# तपाईलाई पर्दामा जंगबहादुरको रुपमा देखिने पक्का भएको हो ?
– पक्का त भइसकेको छैन्। स्क्रिप्ट पढ्दै छु। फाइनल हुन बाँकी छ।

# भनेपछि निर्माण पक्ष बाट फाइनल भइसकेको छ ?
-हो, मलाई अफर आएको हो। अस्ति प्रेस मिटमा पनि त्यहि कुरा भएको थियो।

# ‘जंगे’को जति स्क्रिप्ट पढ्नु भएको छ। कस्तो लागिरहेको छ ?
-पहिलो चरणको स्क्रिप्ट पढिरहेको छु। त्यसैले ‘जंगे’को बारेमा भनिहाल्ने अवस्थामा छैन्। यो निकै संवेदनशिल विषय हो। मलाई जंगबहादुरको बारेमा कति थाहा नभएको हुनसक्छ। त्यसैले उहाँको व्यक्तित्वलाई गलत तरिकाले चित्रण गर्नुभएन। सत्य कुराभन्दा कन्ट्रोभर्सी पनि हुनसक्छ, यसबाट डराउनु हुँदैन्। त्यसको पुष्टि गर्न धेरै अध्ययन, मिहनेत, परिश्रम र समय चाहिन्छ, जुन हामी अहिले असाध्यै प्रारम्भिक चरणमा छौं।

# ‘फेरी नाइँ नभन्नु ल’ र ‘रक्तचन्दन’मा चाही अनुबन्ध भइसक्नु भएको हो्इन् ?
-हो, यी दुई फिल्ममा पनि मैले काम गर्ने पक्का भइसकेको छ। छिट्टै काम सुरु हुँदैछ।

# ‘फेरि नाइ नभन्नु ल’मा तपाईलाई कस्तो भूमिकामा देख्न पाइन्छ ?
-फिल्ममा म एउटा विवाहित ६-७ वर्षको छोरा भएको अभिभावकको भूमिकामा छु। पेशा डाक्टर। तर रुखको वरिपरी घुम्ने, आइसक्रिम खानेजस्तो स्टेरियो टाइपको हिरो होइन्। त्यो पात्रको आफ्नै एउटा गहन विशेषता हुन्छ। जुन वास्तविक कथासँग अत्यन्त नजिक छ।

# ‘रक्तचन्दन’मा तपाई ग्याङस्टार बन्ने कुरा बाहिर आएको छ। वास्तविकता यस्तै हो ?
-सत्य हो । म, रेमन श्रेष्ठ र सौगात मल्ल तीनै जना ग्याङस्टार नै हुन्छौं। त्योभन्दा बढी अहिले भनिहाल्ने अवस्था छैन्। म अध्ययनकै क्रममै छु।

# ‘रक्तचन्दन’मा अहिलेका सबैभन्दा पर्फेक्ट एक्टरको रुपमा चिनिएका सौगात मल्ल हुनुहुन्छ। उहाँसँग काम गर्न पाउँदा अवसर वा चुनौती के महसुस गर्नुभएको छ ?
-पक्का पनि अवसर। आफूभन्दा राम्रो अभिनय गर्न सक्नेसँग काम गर्न पाएपछि आफूले पनि सिक्न पाइन्छ। एक्टिङ त सरुवा रोग हो नि। त्यसैले सौगातबाट टन्न एक्टिङ गर्ने भाइरस मेरो शरिरमा सार्ने प्रयास गर्दैछु।

# तपाई एकपछि अर्को फिल्म अनुबन्ध भइरहनुभएको छ।’कर्कश’ रिलिज अगाडि यस्तो सफलता पाउँछु भन्ने विश्वास थियो ?
-(हाँस्दै) त्यहि त आशिफ (कर्कश निर्देशक) लाई हुन्छ भनिदिएँ। काम गरियो पनि। त्यसपछि त सबैले जाल हालिरहेका छन्। म त्यसमा फस्न खोज्दैछु भनम न।

# के देखेर तपाईको डिमान्ड यति हाई भएको होला ?
-’कर्कश’को काम देखेरै उहाँ (निर्देशक)हरुलाई अझ यसबाट केही निकाल्न सकिन्छ जस्तो लाग्यो होला। ममा क्षमता पनि देख्नु भयो होला। त्यसै कारण आफूसँगै काम गराइरहनु भएको छ। विकास (फेरी नाईँ नभन्नु ल) दाईले पनि मलाई जिम क्लबमा भेटनुभएको हो। त्यहाँ मैले एक्सरसाइज गरेको तरिकाले उहाँले एक्सरसाइजमा त यस्तो डेडिकेसन छ भने एक्टिङमा अझ बढी डेडिकेसन देखाउँन सक्छ भन्ने लागेछ। र, मलाई एप्रोच गर्नुभयो। पछि मैले स्टोरी पढें। साच्चिकै मार्मिक लाग्यो। तडकभडक केही थिएन्। मैले सुने अनुसार टिपिकल नेपाली फिल्म बनाउने थोरै निर्देशकमा विकास दाई पर्नु हुन्छ। पढे/लेखेको पनि हुनुहुन्छ। त्यतिको दिग्गज व्यक्तिले अफर गरे पछि मैले नाई भन्ने हैसियत नै राख्दिन जस्तो लाग्यो। त्यहि अनुसार काम गर्ने पक्का भएको हो।

# तपाई आफैं पनि म्युजिक भिडियो निर्देशक हुनुहुन्छ। तपाईका धेरै समकक्षीले फिल्म निर्देशन गरिसके। तपाईको चाही कुनै प्लान छैन् ?
-गर्छु। पक्का गर्छु तर हतार छैन्। हिरो बन्नलाई उमेर हुन्छ, निर्देशक बन्न हुँदैन्। अझ बुढो हुन दिनुस्। तालु हुन दिनुस्। भूँडी लाग्न दिनुस्। अनि डाइरेक्टर गर्दा पत्याउनु होला नि।

# भनेपछि हालसालै फिल्म निर्देशन गर्ने योजना छैन् ?
-छैन्। तर गर्नेचाही हो। फेरि चलचित्रको पनि माहौल पनि बुझ्नु पर्‍यो। म्युजिक भिडियोको एकदुई दिनको सुटिङ हुन्छ। त्यसमा अर्कै माहौल हुन्छ। फिल्ममा ठूलो युनिट र धेरै समय लाग्ने भएकोले अर्कै माहौल हुन्छ। त्यसैले पहिले आफूले आफूलाई भिजाउनु पर्‍यो। त्यहि भएर अहिले एक्टिङको माध्यममा सिक्दैछु। फिल्मी माहौलमा भिज्दैछु। सबै कुरा बुझेपछि पक्का पनि फिल्म निर्देशन गर्छु।

# कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको तपाई सामाजिक सन्देश मुलक रियालिटी शो ‘परिवर्तन’बाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
-एकदम राम्रो। मलाई माथिल्लो तहमा रहेका सरकारी अधिकारीहरुले फोन गरेर धन्यवाद र बधाई दिइरहनु भएको छ। संगीतले मलाई चिनायो तर बौद्धिक स्तरलाई ‘परिवर्तन’ले धान्ने देखेको छु। मेरो स्टारडम सामाजिक कामको लागि पनि सदुपयोग गरौं, प्रेरित गरौं भन्ने उदेश्य राखेर यो कार्यक्रम सुरु गरेको हुँ।

# यति हृयान्डसम हिरोलाई मन पर्ने तीन नायिकाहरु को-को रहेछन्। मलाई जान्न मन लाग्यो ?
-त्यस्तो तीन जनै भनेर त छैन् तर मलाई प्रियंका कार्कीको प्रेजेन्टेसन एकदमै दामी लाग्छ। मेरो विचारमा प्रियंका नेपाली सिनेमाको सबैभन्दा बेस्ट रेप्रेन्जेटिभ हो। हुन त थियटरबाट आउनु भएका अरु धेरै एक्ट्रेसहरु निकै क्षमतावान हुनुहन्छ तर हिरोइनमा जुन ग्ल्याम फ्याक्टर हुनुनपर्छ नि, त्यो प्रियंका सँग मात्र छ। बाहिरबाट कोही आयो भने ‘सि इज् आवर हिरोइन’ भनेर चिनाउँदा प्रियंका मेरो सबैभन्दा बेस्ट च्वाईस हो।

# ‘फेरी नाइँ नभन्नु ल’मा प्रियंका तपाईकै अपोजिटमा हुनुहुन्छ नि हैन् ?
-हो, त्यहि कुरा छ।

# एक्टरहरुमा को-को मन पर्छ ?
-एक्टरमा त सौगात, दयाहाङ राई र रेमनदास श्रेष्ठ मलाई गज्ज्बको लाग्छ। रेमनको टाइमिङमा राम्रो छ। दया सहज रुपले हरेक पात्र पर्दामा उर्तान सक्छ। सौगातको त झन् भन्नै परेन। उसले हरेक भूमिका आफ्नो लुक्ससँग एक्स्पेरिमेन्ट गर्छ। कहिले तालु बनेर त कहिले कपाल लामो बनेर आइदिन्छ। कहिले मोटाएर त कहिले दुब्लाएर। यसो गर्नु भनेको कलाकारको आँट कै कुरा हो। धेरै कलाकारलाई मलाई छोटो कपाल सुहाउँदैन् कि भनेर काट्ने आँट गर्दैनन्। तर सौगातमा त्यो आँट छ।

# तपाई आफूलाई कस्तो खालको रोल प्ले गर्न मन छ ?
-दैनिक जीवनमा कल्पना पनि गर्न नसकिने, आफूले कहिले सोच्दै नसोचेको वा देख्दै नदेखेको ‘आउट अफ द बक्स’ रोल गर्न मन छ। जुन रोल गर्न मैले मिहनेत गर्नुपरोस। त्यस्तो च्यालेन्ज रोल गर्दा आफ्नो हैसियत पनि थाहा हुन्छ।

SUBSCRIBE 👉